जनकपुरधाम । मधेश प्रदेशमा कुष्टरोगीको संख्या दिन प्रतिदिन बढदै गएको छ । गत वर्ष मात्रै पौने ७ सय नयाँ कृष्ठरोगी भेटिएको छ ।
स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य व्यवस्थापन सूचना केन्द्र (एचएमआईएस) का अनुसार आर्थिक वर्ष ०७७/०७८ मा मधेस प्रदेशका १ सय ३६ नगरपालिकामा ६ सय ७४ वटा नयाँ कुष्ठरोगी भेटिएको हो, जुन कुल संक्रमितको ३४ प्रतिशत रहेको छ ।
आर्थिक वर्ष ०७६÷०७७ मा देशभर ३ हजार २ सय ८२ नयाँ रोगी भेटिएकामा मधेश प्रदेशको मात्रै ४५ प्रतिशत अर्थात् १ हजार ४ सय ८४ जना रहेको थियो । केन्द्रका अनुसार मधेश प्रदेशका धनुषा र महोत्तरीमा कुष्ठरोगीको संख्या बढी छ ।
गएको सोमबार जनकपुरधाममा आयोजित जिल्लास्तरीय कुष्ठरोग सम्बन्धी योजना तर्जुमा तथा अभिमुखीकरण कार्यक्रममा ‘एनएलआर नेपाल’ का उपनिर्देशक नन्द बाँस्तोलाले प्रस्तुत गरेको तथ्यांक अनुसार गत १३ वर्षमा धनुषामा १ सय ७५ बालबालिकासहित १ हजार ६ सय २६ जना र महोत्तरीमा २ सय १८ बालबालिकासहित १ हजार ७ सय ७५ जना कुष्ठरोगका बिरामी भेटिएको हो ।
बाँस्तोलाले सन् २०२५ सम्ममा महोत्तरी र धनुषामा कुष्ठरोगको संक्रमणलाई ५० प्रतिशतले र सन् २०३० सम्ममा ९५ प्रतिशतभन्दा बढी न्यूनीकरण गर्ने लक्ष्य रहेको जानकारी दिए ।
कार्यक्रममा उपस्थित मधेस प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख विजय झाले सरकारको नीति र रणनीति कमजोर भएको कारण ४ हजार वर्ष पुरानो कुष्टरोग अझै नियन्त्रण हुन नसकेको आरोप लगाए ।
मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. रामकेशव साहले गम्भीर समस्या र परिवारमा क्षति नपुगेसम्म रोग लुकाउने परम्पराले मधेस प्रदेशमा कुष्ठरोग न्यूनीकरण गर्न समस्या भएको बताए । ‘रोग लुकाउँदा परिवारमा रोगीको संख्यामा वृद्धि भएको छ,’ डा. साहले भने, ‘कुष्ठरोगले शरीरमा विकृति ल्याएपछि मात्र उपचारको खोजी गरेको पाइएको छ । न्यूनीकरणका लागि जनचेतना आवश्यक छ ।’

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !