जनकपुरधाम । नागरिकता विधेयक पारित गर्न माग गर्दै प्रदर्शनमा उत्रेका तीन जना युवकलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नागरिकताविहिन संघर्ष समितिका केन्द्रीय संयोजक जित साफी, रविन्द्र कुशवाहा र अशोक साह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
नागरिकता विधेयक छिटो पारित गर्न मागको आडमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध गर्ने प्रयास गरेपछि तिनीहरुलाई प्रहरीले धनुषाको ढल्केवरस्थित पूर्व–पश्चिम राजमार्गमा पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता जितेन्द्र बस्नेतले जनाएको छ ।
उता इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदिप सुवेदीले पनि विरोध प्रदर्शनको नाममा चक्काजाम गर्ने प्रयास खोजेपछि तिनीहरुलाई नियन्त्रणमा लिइएको बताएका छन ।
‘संविधानको धारा लागू गर, नागरिकता विधेयक पारित गर, गैर नागरिक बनाउन पाइँदैन, पहिचान खोस्न पाइदैन, जन्मसिद्ध नागरिकका सन्तालाई वंशजको आधारमा नागरिकता दे’ लगायतका नारा उल्लेखित ब्यानर र प्लेकार्ड सहित प्रदर्शनकारीहरुले नाराबाजी गरेका थिए ।
संघर्ष समितिले जन्मसिद्ध नागरिकका सन्तालाई वंशजको आधारमा नागरिकता दिनुपर्ने र आमाको नामबाट समेत नागरिकता दिनुपर्ने मागसहित दवावमूलक सातदिने आन्दोलनको कार्यक्रम तय गरेको छ ।
नागरिकताको माग गर्दै पटक–पटक तीनै तहको सरकारलाई ज्ञापनपत्र बुझाए पनि कुनै सुनवाई नभएपछि बाध्य भएर सडकमा उत्रिनु परेको नागरिकताविहिन संघर्ष समिति मिथिला नगरपालिकाका अध्यक्ष कर्मवीरले बताएका छन ।
पूर्वनिर्धारित प्रदर्शनका कार्यक्रम अनुसार मिथिला नगरपालिका संघर्ष समितिले लोकमार्गमा प्रदर्शन गर्दा प्रदर्शनमाथि दमन गर्ने उद्देश्यले प्रहरीले नागरिकता पिडीतहरुलाई पक्राउ गरिएको कर्मवीरले आरोप लगाएका छन । नागरिकता प्राप्तिका राजमार्ग केन्द्रित आन्दोलन फागुन २७ गतेसम्म निरन्तर चल्ने उनले जनाएको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !