जनकपुरधाम । निर्माणाधीन धनुषाको नगराईन नगरपालिका २ जटही स्थित शहीद दुर्गानन्द झा अस्पताल निर्माण कार्यमा ढिलाई हुनुमा प्रदेश सरकार दोषी रहेको मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले बताएका छन ।

आइतवार प्रथम गणतान्त्रिक शहीद दुर्गानन्द झाको नाममा रहेको बाल अस्पताल निर्माण कार्य अविलम्ब सुचारु र थप बजेट उपलब्ध गराउन मांग गर्दै लोकतान्त्रिक समाजवादी पार्टी नगरपालिका कमिटीले मुख्यमन्त्री राउतलाई बुझाएको ज्ञापन बुझाएका थिए ।
सो ज्ञापन बुझ्दै मुख्यमन्त्री राउतले गतवर्ष बजेट छुटयाइएको बजेटमा पनि काम हुन नसक्नु र आवश्यक थप बजेट उपलब्ध नगराउनु भनेको प्रदेश सरकारकै कमीकमजोरी रहेको यसलाई अविलम्ब सुचारु गराउनेछु प्रतिबद्धता जनाए ।
पत्रकारहरुसँग कुरा गर्दै मुख्यमन्त्री राउतले भने सामाजिक विकास मन्त्री नवलकिशोर साह र सचिव इमनारायण श्रेष्ठसँग के कति कारण अस्पतालको निर्माण कार्य रोकिएको भन्ने जानकारी लिंई आवश्यक थप कार्यका लागि बजेट विनियोजन गरी टेण्डर आह्वान गर्न निर्देशन दिइसकेको छु ।
अस्पतालको निर्माणको वर्तमान अवस्था बारे जानकारी गराउंदै निर्माण कार्य अविलम्ब सुचारु गर्न र निती तथा योजनामा घोषणा गरिए अनुरुप ५० शैयाको बाल अस्पतालमा स्तरोन्नति गर्न ज्ञापन पत्रमार्फत माँग गरिएको छ ।
लोसपाको नगराइन नगरपालिकाका अध्यक्ष नवलकिशोर झा नेतृत्वमा बुझाइएको टोलीमा प्रदेश सभा सदस्य परमेश्वर साह, लोसपाका केन्द्रिय सदस्य राजु चौधरी, राजीव झा सहित स्थानीय तथा केन्द्रिय नेताहरुको सहभागिता रहेको थियो ।

गत आर्थिक वर्षमा शहीद दुर्गानन्द झा बाल अस्पतालका लागि प्रदेशका सामाजिक विकास मन्त्रालयले अस्पातलको आकस्मिक कक्ष तथा ल्याव ब्लक निर्माणका लागि १ करोड ७० लाख १६ हजार ७४६ रुपैयाँको अनुमानित लागत सहित बोलपत्र समेत आह्वान गरेको थियो त्यसमा मात्र ६० प्रतिशत काम सम्पन्न थन्किएको छ ।
चालु आर्थिक वर्षको निती तथा योजनामा सो अस्पताललाई ५० शैयाको रुपमा विस्तार गरिने कार्यक्रम पनि राखिएको थियो । तर बजेट उपलब्ध गराइएन । एकवर्षदेखि निर्माण कार्य अवरुद्ध अलपत्र अवस्थामा रहेको छ । अस्पतालको बाँकी निर्माण कार्य र नीति तथा योजना अनुसार ५० शैयाको रुपमा विस्तार कार्य अघि नबढाइ आन्दोलनमा उत्रने चेतावनी लोसपाका नेता चौधरीले चेतावनी दिएका छन ।
कांग्रेसका महासचिव स्वास्थ्य मन्त्री रहेको बेला गणतान्त्रिक प्रथम शहीद दुर्गानन्द झाको स्मरणमा उहाँकै गृहस्थल जटहीमा अस्पताल खोल्ने घोषणा गरी शिलान्यास गरेका थिए । उनको घोषणा अनुरुप प्रारम्भिक चरणको निर्माण कार्य शुरु गरिएपनि वर्षौदेखि थन्किएपछि गतवर्ष प्रदेश सरकारले सो अस्पतालको निर्माण कार्य पुरा गर्ने अनुरुप बजेट विनियोजन गरेको थियो ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !