जनकपुरधाम । महोत्तरीको जलेश्वर स्थित एक अस्थायी प्रहरी पोष्टका इन्चार्जले खाना बनाएको निहुँमा आफ्ना प्रहरी जवानलाई निर्घात रुपमा कुटपिट गरेका छन ।
नेपाली कांग्रेस महोत्तरीको अधिवेशनका लागि राखिएका अस्थायी प्रहरी पोष्टका प्रहरी इन्चार्ज असई मोतीराम महतोले सोही पोष्टमा कार्यरत प्रहरी जवान जयनारायण महतोलाई निर्घात रुपमा कुटपिट गरेका हुन ।
शनिबार बिहान ९ बजेको समयमा आफूले खाना पकाईरहेको बेला असई महतो एक्कासी आएर बिना कुनै कारण कुटपिट गरेको पिडीत प्रहरी जवान पटेलले बताए । उनले घटना बारे जानकारी गराउंदै भने नेपाली कांग्रेसको अधिवेशनमा खटेका प्रहरी पोष्टका प्रहरीको खानाका लागि होटलको कुपन उपलब्ध बारे आफूलाई थाहा थिएन ।
रातभरि नै खटेको कारण भोख लागेपछि आफू पोष्टमै खाना बनाइरहेको बेला एक्कासी आएर इन्चार्ज साबले गाली गलैज गर्दै कुटपिट गर्न थाले । के कति कारणले कुटेको भन्ने सोध्न मौका नै नदिई लट्ठी र मुक्काले बेस्सरी कुटे ।

घटना सम्बन्धमा असई महतोले होटलमै खानाको व्यवस्था छ र त्यसको कुपन बारे पोष्टमा कार्यरत सबैलाई प्रहरीलाई जानकारी गराइएपनि पटेलले होटलमा नगई पोष्टमै खाना पकाई रहेको कारण कामको दवाब र तनावले आवेशमा पटेललाई गाली गलौज र लट्ठीले हिर्काएको स्वीकार गरे ।
असई महतोले थप्दै भने, ‘खाना पकाउने ड्युटी प्रहरी जवान पटेलकै हो, तर समयमा खाना नबनाउने, बनाएपनि कम बनाउने गरेको कारण कयौं दिन आफूलाई भोकै सुत्नु परेको छ । अरुको भोकको कुनै परवाही नगरी आफूलाई भोक लागेपछि जति बेलापनि बनाएर खाने गरेको छ । जिल्लामा यो जवान चाहिदैन भन्ने मौखिक जानकारी गराइएपनि कुनै चासो लिइएको छैन ।
उता प्रहरी उपरिक्षक कृष्ण प्रसाद पंगेनीले घटना बारे जानकारी हामी कहाँ आएको छ, सगठनको आन्तरिक कुरा हो, हामी त्यस सम्बन्धमा बुझ्दैछौं, दोषी देखिएकालाई सांगठनिक कारवाही गरिनेछ ।
प्रहरी जवानले खाना बनाउने डियूटी नगर्ने गरेको आरोप लाग्दै आएको बारे प्रहरी उपरिक्षक पंगेनीले सो बारे आफूलाई औपचारिक जानकारी गराइएको छैन, मौखिक रुपमा जिल्लामा कसैलाई भनेको होला, त्यस्तो छ भन्ने कामप्रति अटेरी गर्ने जो कोहीलाई पनि छानबीनपछि सांगठनिक कारवाही गरिनेछ । जलेश्वर नगरपालिकास्थित सो अस्थायी प्रहरी पोष्टमा हाल एक जना असई, २ हवल्दार र ५ जना प्रहरी जवानहरु कार्यरत रहेका छन ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !