जनकपुरधाम । मधेश प्रदेशको राजधानी जनकपुरधाम स्थित राजर्षी जनक विश्वविद्यालयमा तोडफोड गरेको आरोपमा प्रहरीले चारजना विद्यार्थीलाई पक्राउ गरेको छ ।
समयमा परीक्षा सञ्चालन नगरेको भन्दै आक्रोशित विद्यार्थीहरुले विश्वविद्यालयको कार्यालयमा तोडफोड गरेका थिए । तोडफोड गरेको आरोपमा सो विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरु आदर्श मण्डल, निराजन सिंह, सन्तोष यादव र सोनु साहलाई पक्राउ गरिएको धनुषा प्रहरीले जनाएको छ ।
आफ्ना सहकर्मीको रिहाईको मांग गर्दै विद्यार्थीहरुले जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन समेत छन् । उनीहरुले प्रहरी कार्यालयको मुख्यद्धार अगाडी धर्ना बसेर पक्राउ विद्यार्थीलाई रिहा गर अविलम्ब परीक्षा सञ्चालन गर, लगायतका नाराबाजी समेत गरेका छन ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक जितेन्द्र बस्नेतले विश्वविद्यालयमा तोडफोड गरेको आरोपमा चारजना विद्यार्थीलाई नियन्त्रणमा लिइएको बताउंदै अहिले विद्यार्थी र विश्वविद्यालय पदाधिकारीहरुबीच छलफल भइरहेको कारण आन्दोलन साम्य भएको बताए ।
विश्वविद्यालयको लापरबाहीका कारण तोकिएको समयमा परीक्षा हुन नसक्दा विद्यार्थीहरु आक्रोशित भएको समाजवादी विद्यार्थी युनियन धनुषाका अध्यक्ष सरोजकुमार यादवले बताएका छन । क्याम्पसले फागुन १८ देखि २३ गतेसम्म परीक्षा लिने सूचना निकालेको थियो । तर इन्टर्नल एसेस्मेन्ट मार्क नपठाएर विश्वविद्यालयले लापरवाही गरेको कारण परीक्षा स्थगित हुन गएको उनले बताए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !