जनकपुरधाम । धनुषा प्रहरीले मोटरसाइकल चोरेको आरोपमा हंसपुर नगरपालिकाबाट दुई युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनुषाको हंसपुर नगरपालिका ५ का २० वर्षीय उमेश माझी र सोही ठाउँ बस्ने २५ वर्षीय लक्ष्मेश्वर मण्डल रहेको धनुषा प्रहरीले जनाएको छ ।
नगरपालिकाको वडा नम्बर ९ टिल्हीस्थित बाटोबाट सवारी चेकजाँचको क्रममा उनीहरुलाई पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता एवं नायव उपरीक्षक जितेन्द्र बस्नेतले बताएका छन ।
जिप्रका धनुषाबाट खटिएको प्रहरी टोलीले चेक प्वाईन्ट थापि बाटोमा आवतजावत गर्ने सवारी साधन तथा मानिसहरुलाई चेकजाँच गर्ने क्रममा शंकास्पद देखिएपछि उनीहरु सवार रहेको ज ४ प ६३९६ र अर्को नम्बर प्लेट उप्काएको मोटरसाइकलको कागजपत्र मांग्दा देखाउन नसक्दा नियन्त्रण लिई अनुसन्धान गर्दा चोरीको मोटरसाइकल रहेको खुलेको प्रवक्ता बस्नेतले बताए ।
उक्त मोटरसाइकलहरु बारे अनुसन्धान गर्दा ज ४ प ६३९६ नम्बरको मोटरसाइकल हंसपुर नगरपालिका ५ बस्ने शम्भु प्रसाद साहको आँगनबाट माझीले चोरी गरेको र नम्बर प्लेट उप्किएको डिस्कभर मोटरसाइकल औरही गाँउपालिका ६ बस्ने उतिमलाल सहनीको आँगनबाट फागुन १५ गते राती लक्ष्मेश्वर मण्डलले चोरी गरी ल्याएको खुलेको उनले बताए ।
दुबैजनालाई नियन्त्रणमा लिई चोरी सम्बन्धी मुद्दामा म्याद थप गरी थप अनुसन्धान कार्य अघि बढाइएको उनले बताए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !