जनकपुरधाम । प्रतिबन्धित लागू औषध “गाँजा” बारे सरकारको दोहरो नीति देखिएको छ । एकातर्फ यसलाई कानूनी मान्यता दिने गरी कानून नै निर्माणमा लागेका छन भने अर्कोतर्फ यसको व्यवसायमा लागेकाहरुलाई तस्करी आरोपमा मार्ने र अवैध व्यवासयी भनी पक्राउ गरी कारवाही गर्दै आएका छन ।
सरकारले गाँजालाई औषधिमा प्रयोग गर्न दिनेगरी कानुन निर्माणको तयारी थालेको छ । गृह मन्त्रालयले गाँजा तथा गाजाजन्य पदार्थ (नियमन) विधेयक २०७८ तयार पारेको हो ।
मन्त्रालयले विधेयक तयार पारेर फागुन १० गते मंगलबार गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णय गरेर मन्त्रिपरिषद्को सैद्धान्तिक सहमतिका लागि पठाएको मन्त्रालयको लागुऔषध नियन्त्रण शाखाका प्रमुख उपसचिव गोकर्णप्रसाद उपाध्यायले जानकारी दिए ।
उपाध्यायका अनुसार विधेयकमा गाँजाको उत्पादन, संकलन, विक्रि वितरण र निकासी कसरी गर्ने भन्ने विषयमा समेटिएको छ । त्यो विधेयक कानुन निर्माण भएपछि तत्काल कार्यान्वयनमा ल्याउने तयारी गृहको छ । यो विधेयक कानुन भएर आएपछि लागु औषध नियन्त्रण ऐन २०३३ ले गाँजाको प्रयोगमा पूर्णरूपमा लगाएको बन्देज खुल्नेछ ।
‘लागु औषध नियन्त्रण ऐन २०३३ ले गाँजाको प्रयोगमा पूर्णरूपमा लगाएको बन्देज यो विधेयक कानुन भएर आएपछि खुल्छ,’ उपसचिव उपाध्यायले भन्नुभयो । मन्त्रालयले केही दिन अघिमात्रै सार्वजनिक गरेको गृह प्रशासन सुधार कार्ययोजनामा ‘गाँजाको औषधिय प्रयोगका लागि कार्यविधि तय गर्ने उल्लेख छ ।
यसैक्रममा बुधवार राति बारामा प्रहरीले गाँजा तस्कर आरोपमा एक भारतीय नागरिकलाई मारेका छन । अन्दाजी ३५ वर्षीय ती व्यक्तिको सनाखत भने भएको छैन ।
प्रहरीका अनुसार राति करीब ११ बजेतिर सिम्रौनगढ– महुवाहीमा लागुऔषध गाँजा तस्करसँग दोहोरो फायरिंग भएको थियो । भारत बिहार मोतिहारी जिल्ला ग्राम पिपरा बस्ने वर्ष ४० को हिरदेश गिरी प्रहरी नियन्त्रणमा छन् । प्रहरीका अनुसार महुवाहीमा लागुऔषध ७५ किलो गाँजा पाँच वटा जुटको बोरामा ७÷८ जना मानिसहरूले टाउकोमा बोकेर नेपालबाट भारततर्फ लैजाँदै थिए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !