जनकपुरधाम, । धनुषा प्रहरीले एक बच्चा चोर्ने जनकपुरधामबाट गिरोहलाई पक्राउ गरेको छ ।
बच्चा चोरी गर्ने गिरोहका चोरी भएका एक ७ महिने र अर्को २ वर्षको बच्चा सहित एक पुरुष र दुई महिला गरी तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । पक्राउ परेकाहरुलाई जिप्रका धनुषाले बिहीवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेहरुमा धनुषाको गणेशमान चारनाथ नगरपालिका १० बस्ने संजित मुखियाकी ३५ वर्षीया श्रीमति मनिषा देवी मुखिया, औरही गाउँपालिका १ पौडेश्वर घर भई हाल जनकपुरधाम उपमहानगरपालिका ८ बस्ने बिगुल मुखियाकी २० वर्षीया श्रीमति किरण राम र महोत्तरीको लोहारपट्टी नगरपालिका ४ घर भई हाल जनकपुरधाम उपमहानगरपालिका ७ बस्दै आएका २२ वर्षीय कृष्ण कुमार यादव रहेका छन् ।
यस्तो हो घटना
बुधबार साँझ करीब ६ बजेको समयमा जनकपुरधाम उपमहानगरपालिका ६ स्थित महाराज सागर पोखरी छेउबाट मोहम्द अमिर राइनका ७ महिने शिशु अख्तर राइनलाई मनिषाले लिएर भागेकी थिइन् । मनिषाले ७ महिने बच्चा अख्तरलाई खेलाई रहेका उनका ६ वर्षिय बहिनी एलिजा खातुनलाई कुरकुरे किन्न ५० रुपैया दिई पठाएर भागेको थिए ।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट प्रहरी निरीक्षक बिक्रम साहको नेतृत्वमा खटेको टोलीले खोजतलास गर्दै जाँदा स्थानीयको सहयोगमा बिहीबार बिहान साढे ८ बजे जनकपुरधाम १९ बेंगा शिवपुर पिपराढीस्थित सञ्चालनमा रहेको हाँस तथा भैंसी फारमको पछाडि खेतमा भाग्दै गरेको अवस्थामा आरोपितहरुलाई पक्राउ गरिएको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरले बताए ।
योजना तहत मनिषाले आफ्नो बच्चा भनिएको २ वर्षिय नन्दनी मुखियालाई किरण सँगै पठाएर ७ महिने बच्चालाई लिएर भागेको थियो । मनिषाले आफ्नो बच्चा भनिएका २ वर्षिय नन्दनी पनि उनको छोरी नभई कतैबाट अपहरण गरेरै नै ल्याएको अनुसन्धानबाट खुलेको एसपी रजौरेले बताए । उनले भने नन्दनीको बारेमा पनि अनुसन्धान भइरहेको छ ।
पक्राउ परेका कृष्ण यादवको घटनामा संलग्नता बच्चा उपलब्ध गराई दिने शर्तमा मनिषासँग १३ हजार रुपैयाँ लिएको र किरणको संलग्नता घटना घटाउनमा सहयोग पुरयाएको अनुसन्धानमा खुलेको समेत एसपी रजौरे बताए ।
के कति कारणले बच्चा अपहरण गरिएको भन्ने कुरा नखुलेपनि मनिषालाई छोरा बच्चा चाहिएकोमा घटना घटाइएको हुन सक्ने प्रारम्भिक अनुसन्धानमा खुलेको उनले बताए । पक्राउ परेकाहरुमाथि अपहरण सम्बन्धी मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको उनले बताए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !