जनकपुरधाम । धनुषाको हँसपुर नगरपालिका वडा नम्बर ३ का अध्यक्ष नियम विपरित विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनेर लाखौ रुपैया अनियमितता गरेको आरोप खुलासा भएको छ ।
जनता समाजवादी पार्टीबाट निर्वाचित वडाध्यक्ष उदय सिंहले सो वडास्थित श्री आधारभूत विद्यालयमा कार्यविधिको गलत फाइदा उठाउंदै विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनेर प्रधानाध्यापक अशोक कुमार मिश्रलाई प्रभावमा पारेर लाखौ रुपैया अनियमितता गरेको आरोप अभिभावकहरुले लगाएका छन ।
सोमवार नवनिर्वाचित समितिका अध्यक्ष मनोज कुमार कापरले भेला गरेको अभिभावक भेलामा प्रधानाध्यापक मिश्रले सार्वजनिक गरेको खर्च विवरण क्रममा अभिभावकहरुले यस्तो आरोप लगाएका हुन ।
अभिभावक बेचु मण्डलले भने सिंह अध्यक्ष बनेको बेला विद्यालयको खातामा २७ लाख रुपैया रहेको थियो । विद्यालयको ६ वटा पोखरीको ठेक्काबाट २० लाखको हाराहारीमा वर्षेणी आम्दानीले ७७ लाख रुपैया आम्दानीमा अनावश्यक कामै नभएका शिर्षकमा ६४ लाख रुपैया बराबरको खर्च देखाएर लाखौ रुपैया अनियमिता गरेको हो ।
उनका अनुसार विद्यालयको माथिल्लो तल्ला र सौन्दर्यकरणको नाममा पर्खाल र केही दुर पीसीसी ढलान मात्र गरेको छ । तर खाजा खर्च, विभिन्न कार्यक्रम र भेलाको बढी बढी रकम खर्च देखाई रकम अनियमता गरेको छ । आफूहरुले गएको जेठ महिनामै सिंह विरुद्ध अख्तियारमा उजुरी दिंदा पनि कुनै चासो नलिएको आरोप उनले लगाए ।
त्यस्तै अर्का अभिभावक मोहम्मल इलताफले वडाध्यक्ष सिंह प्रधानाध्यापक मिश्रसँग मिलोमतो गरी मुश्किलले १०÷१२ लाख रुपैया थपिने तल्लाको खर्च २३ लाख खर्च देखाएको र पर्खाल सहित ६४ लाख रुपैयाको अन्य अनावश्यक खर्च देखाएर १०÷१५ लाख रुपैया बढी रकम गरेको आरोप लगाए । उनले भने धनुषा जिल्लामै सबैभन्दा बढी आम्दानीको श्रोत हुने मध्येका यो विद्यालय पनि एक हो, तर अवस्था जर्जर नै छ ।
अर्का एक अभिभावकले विद्यालयमा सिंहले अनियमितता मात्र होइन उनको रोवाफ देखाएर शिक्षकहरु पढाउने समेत गरेको थिएन । विद्यार्थी आएपनि १० जना शिक्षकमा दुई÷तीन जना शिक्षक मात्र आउने गरेको छ । पढाई नै नभएपछि विद्यार्थी फर्किने गरेको गुनासो गरे ।
समितिका सदस्य रामकुमार कापरले भने ७० वर्ष पुरानो यस विद्यालयमा आफ्नै आम्दानी श्रोत भएको कारण विगत न त जिल्ला शिक्षा कार्यालयले कुनै सहयोग गरे, न अहिले नगरपालिकाले नै कुनै सहयोग गरेको छ । सिंहले ७७ लाख आम्दानीमा ६४ लाख खर्च देखाएर करीब १३ करोड रुपैया संचित देखाएको छ । हाल विद्यालयको खातामा करीब १३ लाख रुपैया संचित सहित १७ लाख ५१ हजार रुपैया रहेको छ ।
यसरी बने सिंह नियम विपरित अध्यक्ष

जनप्रतिनिधि कुनैपनि विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष बन्न नसक्ने कानूनी व्यवस्था रहेको छ । नगरपालिका स्थित विभिन्न विद्यालयको अवस्था जर्जर रहेको कारण सो बेला नगरपालिका कार्यालयले विद्यालयको अवस्था सुधारका लागि वडाध्यक्षले तोकेको अभिभावकलाई व्यवस्थापन समितिको अध्यक्ष बनाइने कार्यविधिको गलत फाइदा उठाउंदै उनी अध्यक्ष बनेको थियो ।
नगरपालिकाका मेयर रामज्ञान मण्डलले पनि कानून विपरित वडाध्यक्ष सिंह विद्यालय समितिको अध्यक्ष बनेको बताएका छन । उनले भने नगरपालिकाले वडाध्यक्षले तोकेको अभिभावक मध्येबाट समिति अध्यक्ष हुने कार्यविधि बनाएको थियो, तर गाउँका सोझासाझा अभिभावकलाई प्रभावमा पारेर कानून विपरित आफै अध्यक्ष बनिहाले ।
मेयर मण्डलले भने करीब चार सालसम्म सिंह समितिको अध्यक्ष रहेपनि विद्यालयको अवस्था जर्जर नै रहेको छ । विद्यालयको माथिल्लो तल्लाको टेण्डरपनि कानून विपरित गरेर रकम अनियमितता गरेको हो । त्यति मात्र नभई खाजा, शिक्षकको तलब, पाठ्य पुस्तक लगायतका सबै खर्च नगरपालिकाले नै व्योहर्दै आएको अवस्थामा रकम कहाँ खर्च भयो प्रतिप्रश्न उनले गरे ।
उनले भने एउटा निष्पक्ष छानबीन समिति गठन गरेर खर्च हिसाबको छानबीन गरेर दोषी जो कोही भएपनि कानून बमोजिम कारवाही हुनुपर्छ । करीब चार सालको अवधिमा पनि विद्यालयको अवस्थामा सुधार नभएपछि र खर्च हिसाब पारदर्शी नगरेपछि अन्ततः सिंहलाई हटाएर अभिभावकहरुले स्थानीय मनोज कापरलाई ८/९ महिना अघि अध्यक्ष बनाइयो । तर सिंहले लामो समयसम्म बरबुझारथ गरेको थिएन, पछिल्लो महिना बरबुझारथ गरेपछि उनले जिम्मेवारी लिएका छन ।
समितिको निर्णय टाल्न सकेनौं : प्र.अ. मिश्र

अभिभावकहरुले लगाएको आरोप बारे प्रधानाध्यापक मिश्रले भने अनियमिततामा आफ्नो कुनै संलग्नता छैन । चेकमा आफ्नो पनि हस्ताक्षर भएपनि व्यवस्थापन समितिले गरेको निर्णय अनुसार आफूले खर्च रकम निकासा गरेको हो ।
अनावश्यक र फर्जी खर्चमा रकम निकासा गर्नु उचित नभएको जिज्ञासामा प्रअ मिश्रले भने विद्यालय व्यवस्थापन समितिले गरेको निर्णय टाल्ने आफ्नो अधिकार नभएको कारण बिल बमोजिमको रकम निकासाका लागि चेकमा हस्ताक्षर गर्नु परेको हो, तर यसमा मेरो कुनै संलग्नता छैन । जहाँसम्म विद्यालयमा पढाईको कुरा हो आफू उपस्थित रहेको बेलामा सबै शिक्षकले पढाउने गरेको छ, तर अनुपस्थित भएपछि विद्यालय नै नआउने, आएपनि नपढाउने जस्ता कार्य भइरहेको छ ।
विद्यालयको सुधार गर्ने लक्ष्य
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोज कापरले विद्यालयको खर्च हिसाब पारदर्शी राख्ने, संचित रकम र आम्दानीबाट सबभन्दा पहिला विद्यालयको संरचनाहरु तयार गर्ने र शैक्षिक गुणस्तरीयता कायम गर्ने अभिभावक भेलामा प्रतिबद्धता जनाएका छन ।

उनले भने अहिले विद्यालयको अवस्था लथालिंग रहेको छ पहिला यसको सुधार गर्नेछु, त्यसपछि पारदर्शी ढंगले खर्च हिसाब राख्ने र विद्यालयका संरचनाहरु आन्तरिक श्रोत तथा सम्बन्धित निकायबाट निर्माण गर्न लगाउने छु । शैक्षिक गुणस्तरीयताका लागि नियमित पठन पाठन गराउनुका साथै आधारभूत तहसम्म रहेकालाई दुई वर्षको अवधिमा कम्तिमा कक्षा १० सम्म पुरयाउनेछु ।
कक्षा ८ सम्म सञ्चालित सो विद्यालयमा हाल साढे ४ सय विद्यार्थीको नामांकन रहेको छ । तर पढाई नै नियमित नहुने गरेको कारण विद्यार्थी पनि मुश्किलले दुई अढाई सय मात्र आउने गरेको आएपनि पढाई नभएपछि फर्किने गरेको छ । हुनत विद्यालयमा ७ जना दरबन्दी र ३ जना बालविकास गरी १० जना शिक्षक कार्यरत रहेको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !