जनकपुरधाम । प्रदेश २ को स्थायी राजधानी र नामकाे बारेमा सभामुख सरोज कुमार यादवको नेतृत्वमा गठित विशेष समितिले सहमति जुटाउन नसकेपछि मतदान प्रक्रियामा जाने भएकाे छ ।
आइतवार प्रदेश सभाको बसेकाे बैठकमा नामकरण र राजधानीका लागि गठित विशेष समितिले ६ बुँदे निष्कर्ष सहितकाे प्रस्तुत गरेकाे प्रतिवेदनमा सहमति जुटन नसकेपछि साेमवार मतदानमा जाने निष्कर्ष निकालिएकाे सचिवालय सचिव रञ्जित यादवले जानकारी दिएका छन ।
साे प्रतिवेदनमा माघको पहिलो सप्ताहमै मतदानमा जान अनुरोध गरिएको छ । गोप्य मतदान प्रक्रियाका लागि आवश्यक निर्वाचन कार्यविधि, जनशक्ति, स्रोत साधन, मतदान सामग्री र सुरक्षाको प्रबन्ध लगायतको व्यवस्थापन मिलाउनुका साथै मतदान प्रक्रिया प्रदेशसभाको सभाकक्षसंगै टाँसिएको कक्षमा गर्न समेत भनिएको छ ।
समितिकाे प्रतिवेदनले राजधानीका लागि ३ र नामकरणका लागि ४ वटा प्रस्ताव राखेर बाँकी प्रस्ताव खारेज गरेको उनले बताए ।
प्रदेशको नामका लागि मधेश, मध्य मधेश, जानकी र मिथिला भोजपुरामा मतदान गर्न सुझाव दिइएको छ भने राजधानीका लागि जनकपुरधाम र वीरगञ्ज सहितकाे मतदानका लागि प्रस्ताव गरिएकाे छ । जनकपुरधामकाे प्रस्तावमा केही सदस्य बाहेक प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलको समर्थन रहेको उल्लेख छ ।
सोमबार बिहान ११ बजे बस्ने प्रदेशसभाको बैठकमा नाम र राजधानीमाथीको पुनः छलफल गरिने गरिने छ, त्यसपछि मतदान प्रक्रिया अगाडी बढाइने सचिव यादवले बताए ।
प्रदेशको स्थायी राजधानी र नाम तोक्न प्रदेशसभाको दुई तिहाइ बहुमत अर्थात ७० जना सांसदको समर्थन आवश्यक देखिन्छ ।
मधेशको पक्षमा जसपाका ३९, लोसपाका १६ र माओवादी केन्द्रका ८ जना प्रदेशसभा सदस्यहरु छन् । सभामुखले मत बराबर भएको अवस्थामामात्र आफ्नो मत हाल्न पाउने छन् ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !