जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले यहाँका उद्योगी व्यवसायका लागि आवश्यक निती निर्माण गर्न नसक्नु हाम्रो दुर्भाग्यपुर्ण रहेको बताएका छन ।
बुधवार नेपाल घरेलु तथा साना उद्योग महासंघ प्रदेश नंं. २ को दोश्रो अधिवेशन तथा महिला उद्यमी सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मुख्यमन्त्री राउतले उद्यमीहरुका लागि आवश्यक पर्ने निति निर्माणमा प्रदेश २ संगै संघीय र स्थानीय सरकार समेत चुकेको बताउंदै यो हाम्रो लागि दुर्भाग्य रहेको भने ।
उनले ठूला, मझौला तथा साना उद्योगका लागि यो प्रदेशमा प्रचुर सम्भावना रहेको तर आवश्यक निती तथा कानून निर्माणको आभावमा फस्टाउन नसकेको र संचालनमा रहेका उद्योग व्यवसाय पनि विभिन्न समस्या झेलिरहनु दुखदायी कुरा हो, यसमा प्रदेश सरकारको पनि कमी कमजोरी रहेको स्वीकार गरे ।
मुलुकको आर्थिक समृद्धि र विकासमा जुन किसिमको भूमिका उद्यमी व्यवसायीहरुको भूमिका रहेको छ त्यो किसिमको सेवा सुविधा राज्यबाट पाइरहेको छैन भन्ने कुरालाई नाकार्न सकिदैन । यसमा तीन वटै सरकार मध्ये प्रदेश सरकार पनि कहीं कहीं चुकेको छ । तर हामीले त्यसलाई सुधार गर्ने खालका वातावरण निर्माण गर्न सक्दो पहल गर्नेछौं उनले प्रतिबद्धता जनाए ।

कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष श्याम गिरीले भने प्रदेश २ उद्योग व्यवसाय संचालनका लागि प्रचुर सम्भावना रहेको ठाउँ तर सरकारको असहयोगको कारण फस्टाउन नसकेको गुनासो गरे ।
उनले संघीय सरकारद्वारा महिला तथा युवा लगायतका उद्यमीलाई दिइने सहुलियत ऋणमा भईरहेको समस्यामा सहजताका लागि पहल गरिदिन आग्रह गर्दै अन्य प्रदेश जस्तै यहाँका प्रदेश सरकारबाट साना उद्योगी तथा महिला उद्यमीका लागि विशेष आर्थिक सहयोगका प्याकेज ल्याउन मांग गरे ।

नेपाल घरेलु तथा साना उद्योग महासंघका प्रदेश अध्यक्ष सीताराम अग्रवालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा उद्योग, पर्यटन तथा वन मन्त्रालयका सचिव बिन्दु कुमारी मिश्राले साना तथा मझौला उद्योग व्यवसायका लागि प्रदेश सरकारले ऐन ल्याएपनि नियमावली आभावमा कार्यान्वयन आउन नसकेको बताईन ।
सो कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका धनुषा अध्यक्ष नरेशप्रसाद सिंह, प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद वास्तोला, निवर्तमान केन्द्रिय अध्यक्ष सुर्य कडेरी लगायतका वक्ताहरुले पनि आ आफना धारणा राखेका थिए । सो कार्यक्रमा उद्योग व्यवसायमा योगदान पुरयाउंदै प्रदेशका एक दर्जनभन्दा बढी उद्यमी व्यवसायीलाई सम्मान समेत गरिएको थियो ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !