जनकपुरधाम । सर्लाहीको बयलवासमा स्थानीय प्रशासनले निषधोज्ञा जारी गरेपनि स्थानीयकाे प्रदर्शन जारी रहेकाे छ ।
प्रहरीको भ्यानबाट स्थानीय व्यवसायीको मृत्यु भएपछि त्यसको विरोधमा दुई दिन देखि भइरहेको प्रदर्शनलाई साम्य पार्न प्रमुख जिल्ला अधिकारीले आज दिउंसाे ३ बजेदेखि बुधवार साँझ ७ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेका हुन् ।
ईलाका प्रहरी कार्यालय केशरगंज सर्लाहीबाट पुर्वमा ईश्वरपुर–४, सागरनाथ टोलसम्म र पश्चिममा ईश्वरपुर–८ रामपुर टोलसम्म, उत्तरमा ईश्वरपुर–५ सखुवनी टोलसम्म र दक्षिणमा ईश्वरपुर–९ खोरिया टोलसम्म निषेधाज्ञा जारी गरिएकाे हाे ।
निषेधाज्ञाको अवधिमा कुनै पनि भेला हुन खालका आयाेजना गर्न नपाइने, बाहिर हिडडुल गर्न र राजनीतिक सभा तथा गतिविधि गर्न नपाइने प्रजिअद्वारा जारी निषेधाज्ञा आदेशमा भनिएकाे छ ।
निषेधाज्ञा लगाइएपनि स्थानीयवासी र प्रहरीबीच पटक–पटक झडप भएको छ । प्रहरीले स्थिति नियन्त्रणमा लिन दर्जनौँ शेल अश्रुग्याँससहित हवाइ फायर गरेपनि प्रदर्शन रोकिएको छैन् ।
झडपमा जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक कृष्ण गिरीसहित दर्जनौ प्रहरी घाइते भएका छन् भने प्रहरीले चलाएको गोली लागेर आन्दोलित स्थानीयवासी पनि घाइते बुझिएकाे छ ।
सार्वजनिक सम्पतिमा तोडफोड, आगजनी लगायत विरोध प्रदर्शनका कारण सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरिएको निषेधाज्ञा पत्रमा उल्लेख छ ।
आइतवार राति प्रहरी भ्यानको ठक्करबाट ईश्वरपुर नगरपालिका–५, सखुबनी खुबलाल टोलका ३० वर्षीय स्गानीय व्यवसायी रामकुमार महतोको मृत्यु भएको थियाे । साे घटनालाई लिएर आक्रोशित स्थानीयवासीले प्रदर्शन गर्दै आएका छन ।
मंगलबार प्रमुख जिल्ला अधिकारी, ईश्वरपुरका मेयर मनोज देवकोटा, मलंगवाका मेयर निरसल साह, प्रहरी उपरीक्षक कृष्ण प्रसाईं, सशस्त्र प्रहरी उपरीक्षक, पीडित परिवारका प्रतिनिधि लगायतको टोली ईलाका प्रहरी कार्यालय केशरगंजमा छलफल गर्दागर्दै आक्रोशित भिडले प्रहरी कार्यालयमै ढुंगामुढा गरेका थिए ।
यता पिडित परिवारसँग भेटन् घरमा पुगेका ईश्वरपुरका मेयर देवकोटामाथि समेत आक्रमण भएको छ । इश्वरपुरमा अहिले एसएसपी मसाउद आलम खांको कमाण्डमा प्रहरी खटाइएकाे छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !