जनकपुरधाम । श्रीराम जानकी विवाह पञ्चमी महोत्सवको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत सोमवार चौथो दिन तिलकोत्सव मनाइएको छ ।
जनकपुरधाम स्थित राम मन्दिरको प्रांगणमा हिन्दु वैदिक परम्परा विवाह महोत्सव अनुसार साधु सन्त र श्रद्धालुहरुको बीचमा भगवान श्रीराम र माता जानकीका अभिभावक रुपमा रहेका महन्तहरुले सम्धी मिलन गरी तिलकोत्सव मनाइएको हो ।
भगवान श्रीरामको अभिभावक राजा दशरथको भूमिकामा राम मन्दिरका महन्थ बाबा राम गिरी र माता सिताको अभिभावक राजा जनकको भूमिकामा जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले सम्धी मिलन गरेका थिए ।
तिलकोत्सवको अवसरमा जानकी मन्दिरबाट राम मन्दिरमा २ सय ५१ वटा पाहुर राम मन्दिर पुरयाइएको थियो । मिथिला परम्परा अनुसार वैवाहिक कार्यक्रममा गाइने गीत र दुल्हीपट्टीलाई दिइने गाली समेत गायन गरिएको थियो ।
सो कार्यक्रममा विशेष अतिथिको रुपमा प्रदेश २ सरकारका उद्योग, पर्यटन तथा वातावरण मन्त्री शत्रुध्न महतो, प्रशासनिक निकाय एवं विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत भोली पांचौ दिन मटकोर छठौ दिन विवाह पञ्चमी महोत्सव मनाइने छ भने अन्तिम दिन रामकलेवा गरी महोत्सव सम्पन्न हुनेछ ।
त्रेतायुगमा भगवान राम र सीताबीच भएको विवाहको स्मरणमा प्रत्येक वर्ष जनकपुरधाममा मंसिर शुक्ल पञ्चमी तिथिका दिन हर्षोल्लास एवं धूमधामका साथ विवाह पञ्चमी महोत्सव मनाइदै आएको छ । विवाह पञ्चमी महोत्सवमा नेपाल भारतका लाखौ श्रद्धालु उपस्थित हुँदै आएका छन ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !