जनकपुरधाम । नयां नेतृत्व चयनका लागि हुने भनिएको नेपाली कांग्रेस प्रदेश २ को अधिवेशन अनिश्चितका लागि स्थगित भई केन्द्रिय महाधिवेशनपछि हुने भएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका प्रदेश २ का निर्वाचन संयोजक रमेश रिजालले एक पत्रकार सम्मेलन आयोजना गरी प्राविधिक कारणले गर्दा हाललाई प्रदेश २ को अधिवेशन स्थगित गरिएको जानकारी दिएका छन ।
उनले भने विभिन्न जिल्लाबाट मतदाता नामावली आउन नसकेको र क्षेत्रिय अधिवेशन समेत हुन नसकेको कारण प्राविधिक त्रुटिले गर्दा सर्वसम्मत रुपमा निर्वाचनको सम्पूर्ण कार्यक्रम स्थगित गरिएको जानकारी दिए ।
उनले प्रदेश को ८ वटा निर्वाचन क्षेत्रको अधिवेशन हुन नसकेको र जनकपुरधाममा मंसिर २२ गतेसम्म विवाह पञ्चमी महोत्सव चलिरहेकोले निर्वाचन गराउनु सम्भव नरहेकोले केन्द्रिय महाधिवेशन पछि नै हुने संकेत गरे । विवाह पंचमी महोत्सव नै मंसिर२३ गतेसम्म हुने र त्यसको भोली पल्ट केन्द्रिय महाधिवेशन शुरु भएपछि प्रदेशको निर्वाचन त्यसपछि नै हुने सम्भावना रहेको संयोजक रिजालले भने ।
प्रदेश २ को सर्लाही जिल्लाको कुनै पनि निर्वाचन क्षेत्रको अधिवेशन हुन सकेको छैन भने रौतहट, महोत्तरी, बारा र सप्तरीको १÷१ वटा निर्वाचन क्षेत्रको अधिवेशन हुन सकेको छैन ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !