जनकपुरधाम । नेपाली काँग्रेस प्रदेश २ का सभापतिमा देउवा समूहबाट कृष्णा यादवले उम्मेदवारी घोषणा गरिएको छ ।
शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरी प्रदेश निर्वाचन संयोजक रमेश रिजालले सभापति देउवा समूहबाट रौतहटका जिल्ला सभापति समेत रहेका कृष्णा यादव उम्मेदवारी घोषणा गरेका हुन ।
देउवा समुहबाट सर्वसम्मत उम्मेदवार कृष्णा रहेको छ, सर्वसम्मतिबाट सबैलाई समेटने गरी प्रदेश कार्यसमिति पदाधिकारी चयन गर्ने प्रयास गर्नेछौं यदि सर्वसम्मतिमा हुन नसकेपछि चाँडै नै प्यानल सहितको उम्मेदवारी घोषणा गरिने बताए ।
यसअघिसम्म प्रदेश सभापतिका आकांक्षी रहेका महोत्तरीका सभापति महेन्द्र राय यादव र सप्तरीका सभापति दिनेश यादवले पनि आफ्नो समूहलाई समर्थन गरिसकेको रिजालले दाबी गरेपनि दिनेश यादवले आफ्नो उम्मेदवारी कायमै रहेको जनाएको छ ।
महेन्द्र रायले पत्रकार सम्मेलनमै सर्वसम्मतिको बाटो अवलम्बन गर्दा आफ्ना समूहका निर्देशनलाई पालना गर्न कृष्णा यादवलाई समर्थन गरेको घोषणा गरेका थिए । उनले दिनेश यादवले पनि समर्थन जनाएको दाबी गरेको संचारकर्मीहरुले उनको उपस्थिति नरहेको जिज्ञासामा भने छलफलको क्रममा समर्थन जनाएको हो, अहिले छैन पछि हामी संगै रहनेछ भने ।

सभापतिमा उम्मेदवारी घोषणा गरिएका कृष्णा यादवले आफ्नो उम्मेदवारी संगठनलाई थप सुदृढिकरण र आगामी निर्वाचनमा प्रदेशबाट तीन वटै तहबाट बढीभन्दा बढी उम्मेदवार जिताउने प्रतिबद्धता जनाएका थिए ।
२०४२ सालबाट नेपाल विद्याथी संघबाट नेपाली कांग्रेसमा लागेका हुन । उनी २०५६ सालदेखि महासमिति सदस्यको रुपमा काम गरेका छन भने २०६४ सालमा संविधान सभा सदस्यमा निर्वाचित भएका हुन । २०६७ सालदेखि दुई कार्यकाल अहिलेसम्म रौतहट जिल्ला सभापतिको रुपमा काम गर्दै आएका छन ।
प्रेस युनियन धनुषाको आयोजना भएको सो पत्रकार सम्मेलनमा केन्द्रिय सदस्यद्वय आनन्द ढुंगाना, महेन्द्र यादव, क्षेत्रिय सभापति कुमरकान्त झा लगायत देउवा समूहका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । निधी समूहबाट यअसघि नै भौतिक पुर्वाधार विकास मन्त्री समेत रहेका पार्टीका प्रदेश संसदीय दलका नेता रामसरोज यादवले उम्मेदवारी घोषणा गरिसकेका छन । देउवा समूहबाटै सप्तरीका दिनेश यादवको उम्मेदवारी कायमै रहेको छ ।
निधि समूहका रामसरोज यादव दुई कार्यकाल जिल्ला सभापति सहित संविधान सभा सदस्य र हाल पार्टी संसदीय दलका नेताको हिसाबले प्रदेश २ का भौतिक पुर्वाधार विकास मन्त्री हुन ।
उनी २०२९ साल विद्यार्थीकालदेखि नै कांग्रेसको राजनीतिमा संलग्न छन । धनुषामा १ सय ४३ वटा सक्रिय सदस्य रहेका बेला सचिव भएर काम गरिसकेका छन भने २०४९ सालमा जिल्ला विकास समितिको सभापति समेत रहिसकेका छन ।
अर्का आकांक्षी दिनेश यादव २०३६ सालको जनमत संग्रहदेखि विद्यार्थीकालदेखि नै नेपाली कांग्रेसको सक्रिय राजनीतिमा लागेका व्यक्ति हुन । उनी नेवि संघका सभापतिदेखि २०४९ सालमा केन्द्रिय सदस्य, २०५४ मा पुर्वाञ्चल क्षेत्रिय सभापति र चार कार्यकाल जिल्ला सभापति भएका हुन । कोइराला समूहबाट देउवा समूह अलग हुँदा उनी पहिलोपटक देउवा समूहबाट सभापति बनेका थिए ।
यसैबीच मतदाता नामावली समयमै निर्वाचन समितिसँग न आईपुग्दा प्राविधिक कारण देखाई आजदेखि शुरु हुने भनिएको निर्वाचन प्रक्रिया आज एक दिनका लागि स्थगित गरिएको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !