जनकपुरधाम । धनुषामा हाती आक्रमणबाट मृत्यु भएका एक मृतक परिवारले ८ महिनापछि नेपाल सरकारबाट राहत पाएको छ ।
जिल्लाको मिथिला नगरपालिका ७ मा जंगली हात्तीको आक्रमणबाट मृत्यु भएका ८० वर्षिय पदमबहादुर खप्तरी मगरका परिवारलाई सरकारले राहत वापत १० लाख रुपियाँ उपल्बध गराएको छ ।
बन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिका २०६९ बमोजिम संघीय वन मन्त्रालयले जिल्ला वन कार्यालय धनुषामार्फत सो राहत रकम मृतकका परिवारलाई उपलब्ध गराएको जनाइएको छ । बिहिबार धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला र वन डिभिजन कार्यालय धनुषाका प्रमुख सुनिलकुमार कर्णले जिल्ला प्रशासन कार्यालय धनुषामा आयोजित एक कार्यक्रमका बीच संयुक्त रुपमा मृतकका श्रीमति ७४ वर्षिय टुकीमायालाई राहत स्वरुप १० लाख रुपियाँको चेक प्रदान गरेका हुन ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी बास्तोलाले सरकारले मृतकका परिवारलाई सहयोग गरी राम्रो काम गरेको र आवश्यक पर्ने कागजात तयार पार्न सहयोग गर्ने वन डिभिजन कार्यालयका प्रमुख कर्णलाई धन्यवाद ज्ञापन गरेका थिए ।
चेक पाएपछि टुकीमायाले भनिन् आफुलाई छोरारोरी नभएको अवस्थामा सरकारले यतिको रकम सहयोग गरेपछि आफनो बाँकीको जिवन जिउन सहज हुनेछ । २०७७ साल चैत १६ गते राति धनुषाको मिथिला नगरपालिका ७ मा जंगली हात्तीको आक्रमणमा परी पदमबहादुर खप्तरी मगरको मृत्यु भएको थियो ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !