जनकपुरधाम । आफू निर्वाचित भए जनकपुरधाममा सुविधा सम्पन्न प्रदेश कार्यालय भवन निर्माण गर्ने प्रतिबद्धता कांग्रेस प्रदेश २ सभापति उम्मेदवार प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री रामसरोज यादवले जनाएका छन ।
सोमवार बेलुका एक पत्रकार सम्मेलन आयोजना गरी मन्त्री यादवले प्रदेश सभापति पदका लागि उम्मेदवारी घोषणा गर्दै यस्तो प्रतिबद्धता जनाएका हुन ।
प्रेस युनियनको आयोजनामा आयोजित पत्रकार सम्मेलनमा मन्त्री यादवले आफू पार्टीमा २०२९ सालदेखि विद्यार्थी जीवनबाटै लागेको र १४ वर्ष धनुषा जिल्ला सभापतिको कार्यकाल सफलतापुर्वक सम्पन्न गरेको हुनाले आफ्नो जीवनभरको लगानी स्वरुप यसपटक प्रदेश सभापतिमा उम्मेदवारी दिन लागेको भने ।
पत्रकारहरुको जिज्ञासामा मन्त्री यादवले आफू जिल्ला सभापति भएको बेला जिल्ला कार्यालय स्थापना गर्न सफल भएको छु, प्रदेश सभापतिमा निर्वाचित भए जनकपुरधाममै सुविधा सम्पन्न पार्टी कार्यालय स्थापना गर्ने र पार्टी थप सक्रिय तथा सुदृढ बनाउने दाबी गरे ।
उनले आफू निर्वाचित भएमा प्रदेशभरिमै अन्य दलभन्दा बढी उम्मेदवार स्थानीय तह र प्रदेश सभामा उम्मेदवार जिताउनेछु दाबी समेत गरे । यसका साथै पार्टीलाई थप सुदृढ बनाउन प्रदेश २ मै लोकप्रिय पार्टी बनाउन मन्त्री पदको फाइदा उठाउंदै जनताका विकासका लागि बढीभन्दा बढी काम गर्नेछु ।
एक अर्को प्रसंगमा नेता यादवले आफ्नो उम्मेदवारी केन्द्रिय सभापति पदका दावेदार उपसभापति निधीको पक्षबाट रहेको भने । उनले यसपटकको महाधिवेशनबाट केन्द्रिय नेतृत्वमै नयाँ अनुहार हाम्रा सर्वमान्य नेता निधी आइरहेको छ । देशैभरिका नेता कार्यकर्ताहरुले निधिलाई केन्द्रिय सभापति पदमा सहयोग गर्नेछ भन्ने आफ्नो विश्वास रहेको भने ।
कांग्रेस पार्टीमा नयाँ अनुहारलाई मौका नदिई पुरानै नेताहरु हावी हुन्छ भन्ने पत्रकारहरुको जिज्ञासामा मन्त्री यादवले वडा र पालिकास्तरमा नयाँ अनुहार नै आइरहेका छन । जहाँसम्म पुरानो हावी हुने कुरा हो, वीपीको उदाहरण दिदै भने जति मेहनत र अनुभव पुरानो नेताहरुमा हुन्छन त्यति एउटा १८ वर्षिय युवकमा हुँदैन ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !