जनकपुरधाम । बलत्कार गरि हत्या गरेकाे आराेपमा एक महिनापछि महोत्तरी प्रहरीले दुईजना पक्राउ गरेका छन् ।
पक्राउ पर्नेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ३ पर्सा पकडियाका ४२ वर्षीय मनोज कुमार यादव र महोत्तरीको भंगाहा नगरपालिका वडा नं. ५ सितापुरका २४ वर्षीय बिपिन मण्डल रहेको महोत्तरीका प्रहरी प्रमुख दिनेश आचार्यले जानकारी दिएका छन ।
गत असोज १३ गते रातीको समयमा भंगाहा नगरपालिकाकी ३५ वर्षीया अमृता सदालाई दुबै जनाले अमृताको घर देखी उत्तर तर्फको चौरीमा लगी जवर्जस्ती करणी गरेका थिए । अमृता बेहोस भएपछि पुनः मोटरसाईकलमा राखी अमृताकै घर छेउमा ल्याई फालेर दुवै जना फरार भएका थिए ।
अमृताको स्थानिय स्वास्थ्य संस्थामा सामान्य उपचार गरेर थप उपचारको लागि सोही दिन प्रादेशिक अस्पताल जनकपुर लगिएकोमा घटनाको भोलि पल्ट असोज १४ गते रातीको समयमा अमृताको मृत्यु भएको थियो ।
पीडितको मृत्यु पश्चात फरार रहेका बिपिनलाई उनको आफ्नै गाँउमा लुकिछिपी बसी रहेको अवस्थामा र मनोजलाई सिरहाको मिर्चैया नगरपालिका वडा नं. ५ स्थितमा लुकिछिपी बसेको अवस्थामा बुधबार पक्राउ गरिएको प्रहरी उपरीक्षक आचार्यले बताए ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रहरीले दुबै जनालाई सार्वजनिक गरेको छ ।
पक्राउ परेका दुबै जना माथि जवर्जस्ती करणी तथा ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता गरि थप अनुसन्धान थालेको प्रहरी उपरीक्षक आचार्यले बताए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !