जनकपुरधाम । वडा अधिवेशन निर्वाचन अधिकृतको विवादका कारण नेपाली कांग्रेस कार्यकर्ताहरुले सर्लाहीमा निर्वाचन अधिकृतलाई कुटपिट गरेका छन ।
सांसद अमरेश सिंह र पुर्व सभापति लक्ष्मण यादव पक्षधर कार्यकर्ताहरुले आफू अनुकुल निर्वाचन अधिकृत खटाउनुपर्ने मांग गर्दै वडा अधिवेशनका लागि मतदान अधिकृत खटाउने विषयमा पार्टी कार्यालयमा बसेको बैठकको क्रममा जिल्ला निर्वाचन अधिकृत दिवाकर राज पाण्डेलाई कुटपिट गरको हुन ।
निर्वाचन अधिकृत विवादकै कारण जिल्लाका २० स्थानीय तहका दुई सय वडामा निर्वाचन हुन सकेको छैन । पछिल्लो पटक बसेको बैठकबाट मंसिर २ गते चुनाव गर्ने पूर्वसहमति भएको थियो । सो सहमति अनुसार अधिवेशन गर्न निर्वाचन अधिकृत खटाउने विषयमा बैठक बसेको थियो ।
निर्वाचन अधिकृत खटाउने सम्बन्धमा पार्टी कार्यालय मलगंवामा बसेको बैठकको क्रममा सांसद सिंह र पुर्व सभापति यादव समूहका कार्यकर्ताहरु एक्कासी आएर तिम्रो यहाँ काम छैन यहाँबाट जाउ भन्दै हातपात गरेको जिल्ला सभापति नागेन्द्रकुमार रायले जानकारी दिएका छन । निर्वाचन अधिकृतको विवादको कारण मंसिर २८ गते नै हुनुपर्ने वडा अधिवेशन हालसम्म हुन सकेको छैन ।
पुर्व सभापति यादव र सांसद सिंह पक्षधरले कब्जा जमाएका पार्टीका भातृ संगठन शिक्षक संघले आफू अनुकुल निर्वाचन अधिकृत तोकिनुपर्ने अडान राखेको कारण वडाहरुमा निर्वाचन हुन नसकेको सभापति रायले जानकारी दिएका छन । हुनत जिल्लामा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर कार्यकर्ताबीच क्रियाशील सदस्यता वितरण देखि नै विवाद रहेको छ ।
सोही विवादका कारण यसअघि अधिवेशन गर्न खटिएका निर्वाचन अधिकृत विनोद कार्कीले राजीनामा दिई फर्केको थियो । त्यसको दुई दिनपछि केन्द्रले दिवाकरराज पाण्डेलाई निर्वाचन अधिकृत खटाएको थियो । पाण्डे पौडेल पक्षधर हुन । निर्वाचन अधिकृत पाण्डेमाथि हातपात भए लगतै पार्टी सभापति शेरबहादुर देउवा पक्षका कार्यकर्ता र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका कार्यकर्ताबीच सामान्य झडप समेत भएको थियो ।
सो झडपले अवस्था विग्रिदैं गएपछि सुरक्षाको दृष्टिगत गर्दै पार्टी कार्यालय सहित जिल्लाको सुरक्षा व्यवस्था कडा बनाएको प्रहरी नायब उपरीक्षक (डीएसपी) माधवप्रसाद बुढाथोकीले जानकारी दिएका छन ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !