जनकपुरधाम । नेकपा एकीकृत समाजवादी पार्टीलाई पनि प्रदेश २ सरकारमा सहभागी गराउन उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायलाई बर्खास्त गरिएकाे छ ।
मुख्यमन्त्री लालबाबु राउतले उनलाई पदमुक्त गरिएकाे जानकारीसहितकाे पत्र प्रदेश प्रमुखको कार्यालयमा मंगलवार दिउंसाे २ बजेतिर पठाएका छन् ।
प्रदेश प्रमुखको कार्यालयका उपसचिव होम प्रसाद घिमिरेले करिब दुई बजेतिर मन्त्रीको पदमुक्तको पत्र प्राप्त भएको जानकारी दिएका छन । मुख्यमन्त्री राउतले पठाएकाे पत्रमा संविधानको धारा १६९ को उपधारा ३ को खण्ड ख बमोजिम उनलाई पदमुक्त गरिएकाे जनाइएकाे छ ।
मुख्यमन्त्री राउतले तीन दिन अघि केन्द्रीय दलीय गठबन्धन अनुसार नेकपा (एस) लाई सरकारमा सहभागी गराउन उनीसँग राजिनामा माग गरेका थिए । मन्त्री रायले राजिनामा नदिएपछि उनलाई मुख्यमन्त्री राउतले बर्खास्त गरेकाे मुख्यमन्त्री कार्यालय श्राेतले जनाएकाे छ ।

राजिनामा प्रकरण बारे मन्त्री रायले भने आफुसंग धाेखाधडी गरिएकाे छ । जसपा पार्टी फुटने बेलामा आफुलाई यही पार्टीमा बस्दा मन्त्री पद कायमै रहने यदि हटाउनै परेमा मुख्यमन्त्री सहितकाे टीम परिवर्तन गर्ने प्रतिबद्धता पार्टी नेतृत्वकर्ताले जनाएकाे तर साे पाल्ना भएन ।
उनले भने मुख्यमन्त्रीले आफुसंग सहमति विपरित राजिनामा मांग्दा आफू सहमति पाल्ना गर्न नभए मुख्यमन्त्रीले नै राजिनामा दिनुपर्ने मांग गर्दा आफुलाई नियतवश बर्खास्त गरेकाे हाे ।
सहमति अनुसार नेकपा (एस) ले उद्याेग पर्यटन वन तथा वातावरण मन्त्रालय सहित दुईवटा मन्त्रालय पाउने भएका छन । तात्कालिन राजपाबाट मन्त्री भएका मन्त्री रायले जसपा विभाजनपछि महेन्द्र राय पक्षधर भएका कारण महन्थ ठाकुर नेतृत्वकाे लाेसपामा नगई जसपामै बसिरहे ।
मुख्यमन्त्री राउतले यसअघि पनि गठबन्धनकाे सहमति अनुसार मन्त्रिपरिषद विस्तार गर्दा आफ्नै पार्टीका आन्तरिक मामिला तथा सञ्चार मन्त्री ज्ञानेन्द्र यादव, राज्यमन्त्री सराेज कुशवाहालाई राजिनामा दिलाएका थिए भने पार्टी विभाजन प्रक्रियामा रहेकाे बेला तात्कालिन राजपाका भाैतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र साेनल, राज्यमन्त्रीद्वय डिम्पल झा र सुरेश मण्डललाई बर्खास्त गरेका थिए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !