जनकपुरधाम । सडक मरम्मत सम्भारको मांग जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १८ भोइलका स्थानीयले सडक जाम गरी विरोध प्रदर्शन गरेका छन ।
सोमवार बिहान स्थानीयवासीले निर्माण कम्पनीको ढिलाई र सम्बन्धित निकायको लापरवाहीको कारण जनकपुर—कमला पुल सडक खण्ड हिलाम्य भई वर्षौदेखि आवागमनमा समस्या भइरहेको भन्दै विरोध प्रदर्शन गरेका हुन ।
प्रदेशका राजधानी जनकपुरधाम उपमहानगरपालिका जोडने मूल सडकको रुपमा रहेको हुलाकी सडक अन्तर्गतको उक्त सडक निर्माण हुन नसक्दा वर्षौदेखि हिलाम्य रहेको छ । हिलाम्य भएको कारण स्थानीयलाई आवात जावत गर्न निकै समस्या हुँदै आएको छ ।
सम्बन्धित निकाय निर्माण कम्पनी, हुलाकी राजमार्ग आयोजना र सम्बन्धित निकाय जनकपुरधाम उपमहानगरपालिकालाई समयमै सडक निर्माण गर्न पटक पटक ताकेता गर्दा पनि हालसम्म कुनै चासो नलिइएको कारण बाध्य भई आन्दोलन गर्नु परेको कुरा स्थानीय युवा सरोज मण्डलले बताए ।
उनले भने प्रदेशको राजधानी जोडने मूल सडक रहेको कारण उपमहानगरपालिकाका विभिन्न वडा, विदेह नगरपालिका, औरही गाउँ कमला नगरपालिका लगायतका स्थानीय तहका वासिन्दालाई आवात जावतमा समस्या भई सास्ती भोग्नु परिरहेको छ ।
सम्बन्धित निकायले समयमै सडक निर्माण नगरेको कारण दिनहुँ दुर्घटना हुने गरेको र वर्षातको समयमा आवागमन नै बन्द गरेको स्थानीयवासीहरुको भनाई छ । पटक पटक म्याद थपिएपनि हालसम्म निर्माण कार्य सम्पन्न हुन नसक्दा स्थानीय विरोध प्रदर्शन गर्दै आएका छन । उक्त सडक खण्डको पेटी ठेक्का प्रदेश सभा सदस्य किशोरी साह कमलको निर्माण कम्पनी कमला कन्स्ट्रक्सनले ठेक्का लिएका छन । निर्माण ठेकेदार प्रदेश सभा सदस्य भएकै कारण कसैले आवाज उठाउन नसक्दा निर्माणमा ढिलासुस्ती गर्दै आएको आरोप लगाइएको छ ।
निर्माण अवधि सम्झौता समाप्त भई पुनः एक वर्ष म्याद थपिएपनि हालसम्म मुश्किलले ७० प्रतिशत काम मात्र सम्पन्न हुन सकेको छ । स्थानीयवासीकै अवरोधका कारण निर्माण कम्पनीले सम्झौता अवधिमा काम सम्पन्न गर्न नसकिएको सम्बन्धित निकायको भनाई छ ।
हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालयका प्रमुख कृष्ण महतोले सम्झौता अवधि र थपिएको म्यादमा पनि काम सम्पन्न हुन नसक्नु निर्माण कम्पनी मात्र नभई स्थानीयवासी समेत दोषी रहेको दाबी गरेका छन । उनले स्थानीयवासीकै अवरोधका कारण थपिएको म्याद पनि दुई वर्ष बितिसक्दा निर्माण कार्य सम्पन्न हुन नसकेको र अझै कति लाग्ने हो यकिन नरहेको भने ।
प्रमुख महतोले जहाँसम्म भोइलको कुरा हो त्यहाँ स्थानीयवासीले नाला निर्माणका लागि जग्गा उपलब्ध नगराएको कारण वर्षौदेखि रोकिएको छ । भोइल मात्रै होइन औरही गाउँपालिकाका कयौं स्थानमा स्थानीयले दिएको उजुरीका कारण अदालतबाट रोक्का भएको कारण काम रोकिन गएको हो ।
कयौं स्थानमा त स्थानीयवासीले मुआब्जा समेत लिइसकेको छ । हालसम्म जग्गा अधिग्रहण गर्न नदिएको कारण समेत निर्माण कार्य प्रभावित हुन गएको हो । तर छठ पर्व सकिए लगतै अनुगमन गरी जग्गा अधिग्रहणको काम अघि बढाइनेछ ।
कदम चोकदेखि औरहीसम्म पहिलो खण्ड २७ करोड ९५ लाख र औरहीदेखि सघारासम्म दोस्रो खण्ड २२ करोड ९७ लाखमा ठेक्का सम्झौता भएको हो ।
नेपाल र भारत सरकारको लगानीमा धनुषा, महोत्तरी, सर्लाही र सिरहामा ३ सय १५ किलोमिटर हुलाकी राजमार्ग निर्माणाधीन छ । जसमा नेपाल सरकारको लगानीमा २ सय १२ किलोमिटर र भारत सरकारको लगानीमा १ सय ३ किलोमिटर निर्माण कार्य भइरहेको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !