जनकपुरधाम । डा. सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरधामका प्रमुख राजेश कुशवाहालाई दुव्र्यवहार पश्चात अब मेयर मुख्यमन्त्रीको पालो थ्रेट दिएपछि दुवै कार्यालयमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
प्रमुख कुशवाहालाई दुव्र्यवहारको भोली पल्ट समाजिक सञ्जाल फेसबूक मार्फत जनमत पार्टीका अध्यक्ष डा. सिके राउतको सचिवालयले यो भ्रष्टाचारीहरु विरुद्ध जनकारवाहीको संकेत मात्र थियो जनतामा डिमाण्ड धेरै डिमाण्ड मेयर सुध्रेन, मेयर मात्रै होइन सांसद र मन्त्रीलाई समेत जनकारवाही हुने चेतावनीपछि त्यसको भोलीदेखि सुरक्षा व्यवस्था कडा पारिएको हो । डा. सिके राउतको थ्रेटपछि जनकपुरधाम उपमहानगरपालिकाको कार्यालय, मेयर लालकिशोर साहको निवास र मुख्यमन्त्री कार्यालय अगाडि सहित नगरका विभिन्न चौकहरुमा प्रहरीले सुरक्षा व्यवस्था कडा पारेकाे हाे ।

जिल्ला प्रहरी कार्यालय धनुषाद्वारा जनकपुरधाम उपमहानगरपालिकाको कार्यालय र मेयर लालकिशोर साहको निवासका साथै मुख्यमन्त्री कार्यालय अगाडि दर्जनौ संख्यामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी संयुक्त टोली परिचालन गरिएको छ ।
धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद वास्तोलाले जनमत पार्टीको थ्रेटकै कारण भन्दा पनि पछिल्लो पटक खानेपानीका प्रमुखमाथि भएको दृव्र्यवहार घटनाले सर्तकताका लागि जिल्ला सुरक्षा समितिको निर्णय अनुसार आशंकित कार्यालय तथा पदाधिकारीहरुलाई सुरक्षा दिइएको हो ।
उनले भने पछिल्लो पटक खानेपानी प्रमुखमाथि भएको घटना नियोजित नभई छापामार शैलीमा अपराधिक प्रवृतिले घटाइएको घटना हो । तर अब कुनैपनि कार्यालयमा यस्ता घटना दोहरिन नदिन जिल्ला सुरक्षा समितिले आफ्नो रणनीति तहत कडा पारेको छ, कर्मचारीहरुलाई हामी सुरक्षाको प्रत्याभूति दिइरहेका छौं ।
यता सुरक्षाको प्रत्याभूतिको मांग गर्दै जनकपुरधाम उपमहानगरपालिकाका कर्मचारीहरुले शुक्रवार कामकाज ठप्प राखे भने आज दिउंसो १ बजेसम्म विरोध स्वरुप पेनडाउन गरी कामकाज रोक्का गरेका छन ।
नेपाल नगरपालिका कर्मचारी एशोसिएसन ईकाई समिति जनकपुरधाम उपमहानगरपालिकाका अध्यक्ष शरद लाभले पछिल्लो पटक जनमत पार्टीका कार्यकर्ताद्वारा खानेपानीका प्रमुखमाथि गरिएको दुव्र्यवहार र उपमहानगरपालिकामा समेत तोडफोड गरिएको कारण शुक्रवार एक दिने कामकाज रोक्का गरिएको र आज दिउंसो एक बजेसम्म पेनडाउन गरिएको बताए ।
जनकपुरधाम उपमहानगरपालिका मात्र नभई सो अन्तर्गतका वडा कार्यालयहरुका सचिवहरु समेत आन्दोलनमा रहेको कारण शुक्रवार बन्द रहयो भने पेनपाउन गरी कामकाज रोक्का गरेका छन ।
वडा कार्यालयहरु समेत बन्द रहेको बारे जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर चारका सचिव राजेश ढकालले भने हामी कर्मचारीहरु सुरक्षाको प्रत्याभूतिको मांग गर्दै नगरपालिकाका कर्मचारी युनियनको निर्णय अनुसार आज दिउंसो बजेसम्म कामकाज रोक्का छौं ।
उपमहानगरपालिकाको कार्यालय र वडा कार्यालय बन्द रहेको कारण सेवाग्राहीहरुलाई निकै सास्ती भोग्नु परेको छ । पुर्व सूचना बिना कार्यालय बन्द भएपछि काम गराउन आएका सेवाग्राही कर्मचारीहरुको आन्दोलनको कारण रितै हात फर्किनु परिरहेको छ ।
सुरक्षाको प्रत्याभूति दिलाउन सुरक्षा व्यवस्था कडा पारिएपनि कर्मचारीहरुमा जनमत पार्टीका कार्यकर्ताहरुको त्रास नै देखिएको छ । कर्मचारी श्रोतका अनुसार उपमहानगरपालिकाका प्रशासकीय अधिकृत शुक्रवार नै काठमाडौ गइसकेका छन भने ईन्जिनीयर विरेन्द्र यादव सोही दिनदेखि कार्यालय आउन छाडेका छन ।
खानेपानी प्रमुख कुशवाहामाथि भएको दुव्र्यवहार घटना भएदेखि मेयर लालकिशोर साह न त कार्यालय गएका छन न कुनै सार्वजनिक कार्यक्रममै जान पाएका छन । सो दिनदेखि उनी कडा सुरक्षाका बीच आफ्नो निवासमै बस्दै आएका छन । साभार : ईकागज

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !