जनकपुरधाम । खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरधामका निमित प्रमुख राजेश्वर कुशवाह दुव्र्यवहार घटनाको थप अनुसन्धानका लागि पक्राउ परेकाहरुलाई अझ ७ दिन थुनामा राख्न म्याद थप गरिएको छ ।
शुक्रवार मुद्दा दर्ता तयारी रहेपनि सरकारी वकिल कार्यालयको सल्लाहमा थप अनुसन्धानका लागि अदालतबाट ७ दिन म्याद थप गरिएको जनाइएको छ ।
लोकपुकार संग कुरा गर्दै जिल्ला प्रमुख अधिकारी वन्धु प्रसाद वास्तोलाले राष्ट्र सेवक कर्मचारीलाई छापामार शैलीमा कुटपिट तथा अर्धनग्न गरी बजार घुमाउनु सहितका गरिएको दुव्र्यवहार घटनामा संलग्न प्रहरी नियन्त्रणमा रहेका १७ जना विरुद्ध आजै मुद्दा दर्ता गराउने तयारी थियो तर थप अनुसन्धानका लागि ७ दिन म्याद थप गरिएको हो ।
घटना सम्बन्धमा थप अनुसन्धान गरी अभियोग पत्र दायर गरी राज्य उपद्रवीको मुद्दा चलाइने उनले जानकारी दिए । घटनामा अझै आरोपित हुन सक्ने आशंका रहेकोमा तिनीहरुलाई पनि नियन्त्रणमा लिइने उनले भने ।
खानेपानी प्रमुख कुशवाहालाई जनमत पार्टी अध्यक्ष सिके राउतको निवास जाने बाटो निर्माण नगरिएको भन्दै उनका कार्यकर्ताहरुले जनकारवाही भन्दै कार्यालयमा प्रवेश गरी कुटपिट गर्दै अर्धनग्न गरेर नगर परिक्रमा गराएको थियो ।
घटना लगतै प्रहरीले १० जनालाई पक्राउ गरिएको थियो । पछि तिनीहरुलाई रिहाईको मांग गर्दै जिल्ला प्रहरी कार्यालय घेराउ गर्न पुगेका थप ५२ जनालाई पक्राउ गरिएको थियो । पछि राति ८ बजे घटनामा संलग्नता नरहेको भन्दै ४५ रिहा गरिएको थियो । हाल प्रहरी नियन्त्रणमा रहेका १७ जना मध्ये सिरहाका ७ जना, धनुषाका ६ जना, महोत्तरीका ३ जना र सर्लाहीका एकजना रहेका छन् ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !