जनकपुरधाम । जनकपुरधाम उद्योग वाणिज्य संघले जनकपुर जयनगर रेल सेवा अविलम्ब संचालन गर्न मांग गरेका छन ।
शुक्रवार भौतिक पुर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई ज्ञापन पत्र बुझाउंदै संघका पदाधिकारीहरुले रेल सेवा संचालन हुन नसक्दा यहाँका उद्योग व्यवसाय र पर्यटकीय विकासमा ठूलो असर परेको भन्दै अविलम्ब सञ्चालन गर्न मांग गरेका छन ।
संघका अध्यक्ष जितेन्द्र महासेठको अगुवाईमा बुझाइएको ज्ञापन पत्रमा भारत सरकारको सहयोगमा सीमावर्ती जयनगर देखि बर्दिबाससम्म ७२ किलोमीटर मध्ये जयनगर जनकपुर (कुर्था) सम्म प्रथम चरणको पुर्वाधार भइसकेको र रेलको इन्जन बोगी समेत किनेको एक वर्ष बितिसक्दा संचालन नहुनु दुर्भाग्य हो । सो रेल सेवा संचालनमा आउन नसक्दा राष्ट्रकै उद्योग, व्यवसाय तथा पर्यटनमा अत्यधिक नाकारात्मक असर परेकोले अविलम्ब संचालन गर्न मांग गरिएको छ ।
ज्ञापन पत्र बुझ्दै मन्त्री यादवले अध्यादेश ल्याएर पनि जयनगर जनकपुरधाम (कुर्था) रेल संचालनमा ल्याउने प्रतिबद्धता जनाईन । उनले भनिन् अहिलेसम्म कानूनी अड्चनका कारण समस्या थियो तर अब विधेयक पनि राष्ट्रिय सभाबाट फिर्ता भइसकेको कारण चांडै नै अध्यादेश मार्फत रेल संचालनमा ल्याउने गरी तयारी अघि बढाउनेछु ।
आगामी विवाह पञ्चमीदेखि संचालनमा ल्याउन संघका पदाधिकारीहरुले संचालन गराउन गरेको मांगमा मन्त्री यादवले विवाह पञ्चमी देखि नै संचालन हुन्छ भन्ने ग्यारेन्टी नभएपनि चाँडै नै संचालनमा ल्याउंने छौं । उनले भनिन् आज दुई बजे बस्ने मन्त्रिपरिषदको बैठकमा रेल संचालनको कुरा पनि उठाउनेछु । बैठकबाट आएका निर्णय अनुसार आगामी कात्तिक ९ गते बस्ने संसदको बैठकबाट अध्यादेश ल्याउने सम्बन्धमा छलफल गरेर प्रक्रिया अघि बढाउनेछु ।
पत्रकारहरुको जिज्ञासामा मन्त्री यादवले भनिन् गठबन्धनको सरकारको कति दिनसम्म टिक्नेछ त्यसको कुनै भरोसा नरहेको कारण आफू सकेजति जयनगर जनकपुर रेल मात्र नभई अन्य रेलवे निर्माण कार्यसमेत तिव्रगतिमा बढाउनेछु ।
सो ज्ञापन पत्र बुझाउने कार्यक्रममा सहभागी संघका पुर्व अध्यक्ष निर्मल चौधरीले भने जयनगर जनकपुर रेल संचालनमा आएपछि यहाँका उद्योग व्यवसाय फस्टाउनुका साथै पर्यटकीय क्षेत्रमा समेत राम्रो विकास हुनेछ । सो रेल सेवाले यहाँका उद्योगी व्यवसायीलाई मात्र फाइदा नभई आम जनताले समेत सस्तो दरमा सामान पाउनेछ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !