जनकपुरधाम । भगवान श्रीरामले लंकाधिपति रावणकाे बद्ध गरेकाे स्मरणमा बडादशैंको अन्तिम दिन आज राति जनकपुरधाममा पनि रावणबद्ध गरिएको छ ।
असत्यमाथि सत्यकाे विजय स्वरूप गंगासागर र धनुषसागर पोखरीलाई जोड्ने पुलमाथि प्रतिकात्मक रुपले निर्माण गरिएको लंकाको दहन तथा राम मन्दिरका महन्थ रामगिरीद्वारा रावणको बद्ध गरिएको हो ।
स्थानीय महावीर युवा कमिटीकाे आयाेजनामा यसवर्ष ५२ फिटको रावण, मेघनाथ र कुम्भकर्णको पुत्ला बनाइएकाे थियाे । हरेक वर्ष जनकपुरधाममा विशेष हर्षोल्लासका साथ रावणबद्ध गरिँदै आएको छ ।

कार्यक्रम हेर्न जनकपुरधाम र वरिपरिका गाउँघरबाट हजारौंको संख्यामा सर्वसाधारको भीड लागेको थियो । रावणबद्ध पश्चात जनकपुरधामस्थित राजदेवी मन्दिरमा महाप्रसाद समेत वितरण गरिएको थियो ।
आजकै दिन १४ वर्षे वनवासपछि रावणसँग युद्धमा भगवान् रामले असत्यमाथि विजय प्राप्त गर्दै आफ्नी पत्नी सितालाई रावणको कब्जाबाट मुक्त गर्न सफल भएका थिए । सोही खुशियालीमा जनकपुरधाममा विजयादशमीको दिन रावणबद्धका लागि विशेष कार्यक्रमको आयोजन हुँदै आएको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !