जनकपुरधाम । यातायात व्यवस्था कार्यालय जनकपुरका निमित्त प्रमुखसहित अन्य चारजना कर्मचारीहरुले करारका कर्मचारीहरुलाई परिचालन गरी ब्रम्ह्लुट मचाएको आरोप लगाइएको छ ।
यातायात व्यवस्था कार्यालय जनकपुरका निमित्त प्रमुख वीरेन्द्र साह, नायब सुब्बाद्वय रामजीवन महतो र अनिल गिरी भन्ने तेजेन्द्रकुमार गिरी तथा करारका कर्मचारीद्वय भीष्म नारायण साह र दिलिप साह मिलेर कार्यालयमा ब्रम्ह्लुट मचाएका हुन् ।
यातायात कार्यालय जनकपुरमा करारमा भिष्म नारायण साह, दिलिप कुमार साह, उमाशंकर महतो, रोशन कर्ण, सवारी चालकद्वय ईश्राफिल साह एवं रामबिनेश साह, अमित झा, मनु कर्ण तथा बिपिन कर्णलाई धेरै पहिलेदेखि नै नियुक्त गरेर राखिएको छ ।
यी कर्मचारीहरुलाई एकदमै न्यून तलब प्रतिमहिना ५ हजार रुपैयाँ पारिश्रमिक दरले राखिएको छ । तर, यिनी आफ्ना तलब समेत प्रति ६ महिनामा नियुक्ति नवीकरणका लागि घुस वापत कार्यालय प्रमुखलाई बुझाउनुका साथै सेवाग्राहीबाट लिइने घुसको रकमबाट समेत प्रमुख सहित फाँटवालाहरुलाई ५० प्रतिशतको दरले दिने गरेको छ ।
कार्यालयका एक कर्मचारी श्रोतका अनुसार करारका कर्मचारीलाई स्थायी कर्मचारी भन्दा बढि जिम्मेवारी दिएर राखिएको तथा उनीहरुले कार्यालय प्रमुखको मध्यस्तकर्ताको रुपमा काम गरिरहेको छ । नाम उल्लेख नगर्ने शर्तमा उनले भने सवारी साधनको लाइसेन्स बनाउन आएका सेवाग्राहीहरुबाट अफलाईन दर्ता शूल्क प्रति सेवाग्राही २ हजार रुपैयाँ लिने गरेको र त्यस रकममध्येबाट ५० प्रतिशत रकम कार्यालय प्रमुखकोमा बुझाउनुपर्ने नियम नै बनाइएको छ ।
निमित्त कार्यालय प्रमुख साह करिव ८ महिना अघि मात्रै यातायात कार्यालयमा आएका छन् । तर, यो ८ महिनाकै अवधिमा उनले करारका कर्मचारीसँग साँठगाँठ गरी करोडौंको चलखेल गरिसकेको सोही कार्यालयमा कार्यरत अर्का एक स्थायी कर्मचारीले बताए ।
उनले भने, ‘हामी स्थायी भएर पनि दिनभरी कार्यालयमा आ–आफ्नो काममा व्यस्त हुन्छौं तर, करारका कर्मचारीहरु काम छोडेर बिचौलियाहरुसँगको साँठगाँठमा कार्यालय प्रमुखको चेम्बरमा सेटिङ्ग मिलाउन व्यस्त रहन्छन् ।’ कार्यालय समय समाप्त भएपछि मात्र उनीहरुले सेवाग्राहीलाई प्रभावमा पारेर रातिको समयमा नियम कानूनविपरीत अफलाइन दर्ता गर्दै आएको उनको दावी छ ।
‘नायब सुब्बा अनिल गिरी भन्ने तेजेन्द्रकुमार गिरी यहाँ विगत २० बर्षदेखि कार्यरत छन् । उनको कहिल्यै सरुवा नै हुँदैन् । जुन हाकिम आएपनि सबैलाई प्रभावमा पारेर उनले आफ्नो दबदबा कायम राखेका छन्,’उनले भने । उनीहरु बिचौलियासँग समन्वय गरेर रातिको समयमा कार्यालयको मुख्यद्वार बन्द गरी चोरबाटोबाट सेवाग्राहीलाई भित्र प्रवेश गराएर दैनिक रुपमा गैरकानूनी काम गरिरहेको उनले बताए ।
यातायात कार्यालय जनकपुरमा सेवाग्राहीले बिचौलियामार्फत लाखौँ रुपैयाँ अग्रीम भुक्तानी गरेर सवारी चालक अनुमति पत्र बनाउन बाध्य रहेको उनको दावी छ । अहिले अनलाइन फाराम भर्न यातायात व्यवस्था कार्यालयले नै बन्द गरेको अवस्था रहेपनि जनकपुरमा भने यातायात व्यवस्था कार्यालयमा बिचौलियाहरुको बिगबिगीका कारण सेवाग्राहीसँग लाखौँ रुपैयाँ लिएर राति पनि फाराम भर्ने काम भइरहेको स्रोतले जनाए ।
लिखित परीक्षाको रिजल्ट प्रकाशित गर्नुपर्नेमा यातायात कार्यालय जनकपुरले भित्रैबाट सेटिङ गरी मोटो रकम दिनेलाई पास गर्ने गरेको पाइएको छ । चितवनबाट आएका एकजना सेवाग्राही लिलेन्द्र सिंहले भने,‘हामीलाई जनकपुरस्थित यातायात कार्यालयमा काम गराउन धेरै अप्ठ्यारो छ । यहाँका केही कर्मचारीहरु बिना कमिसन काम गर्न नै मान्दैनन् । दुइपाङग्रेको लाइसेन्स बनाउन जाँदा १५ देखि २० हजार र चारपाङग्रेको लाइसेन्सका लागि १ लाख २० हजारसम्म माग्ने गरेका छन् । सबैको सेटिङ्ग मिलेको छ ।’
कार्यालय प्रमुख लगायतले चितवन, इटहरी, सिन्धुली, रामेछाप, दोलखालगायत ठाउँबाट बिचौलियामार्फत लाइसेन्स लिन चाहने सेवाग्राहीलाई स्वयं बोलाएर २० हजार देखि १ लाख २० हजारसम्म रकम लिई अनाधिकृत रुपमा लाइसेन्स दिने गरेको स्रोतको दावी छ । साभार : फरकधार

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !