जनकपुरधाम । प्रदेश २ सरकारले आफ्ना वा मातहतका निकायद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुनेलाई रातिमा दुई हजार रुपैयाको खाना खुवाउने भएको छ ।
प्रदेश सरकार दिवस समारोह कार्यक्रम संचालन कार्यविधि सहितका कानून नै निर्माण गरी यस्तो दररेट निर्धारण गरेका हुन । सो कार्यविधि अनुसार प्रदेश सरकारले मनाउने दिवस समारोहमा सहभागी हुने प्रतिव्यक्ति दिवा खाना वापत ७ सय ५० रुपैया र खाजा वापत २ सय ५० रुपैया दररेट तोकेको हो ।
त्यस्तै दिवस समारोहमा प्रयोग हुने खुल्ला चौरमा मञ्च व्यवस्थापनका लागि दुई लाख, हलभित्रको मञ्च भित्रको मञ्चका लागि ५० हजार र कार्यक्रम वा उत्सवमा स्थानीय संस्कृति तथा पेशासँग सम्बन्धित झाँकी, नृत्य प्रस्तुतका लागि प्रति टोलीलाई २० हजार रुपैयाको दरले निर्धारण गरेको छ ।
सो दिवस समारोहमा सम्मान कार्यक्रमका लागि प्रतिव्यक्ति दोसल्ला, कदर पत्र र सम्मानपत्र वापत ३ हजार र कार्यक्रम गर्नका लागि विविध खर्चमा ७० हजार रुपैया खर्च पाउनेछ ।
प्रदेश सरकारले २०७६ सालमा मनाएको आफ्नो स्थापना दिवसमा ७५ लाख रुपैया खर्च देखाएर भ्रष्टाचार गरिएको भन्ने विभिन्न संचार माध्यममा समाचार प्रकाशन/प्रसारण भएपछि आलोचना हुन थालेपछि २०७७ सालमा दिवस समारोह कार्यक्रम संचालन कार्यविधि बनाई खर्चको मापदण्ड निर्धारण गरेका हुन ।
सो कार्यविधिमा कुनै पनि दिवस, कार्यक्रम वा जयन्ती मनाउनका लागि सम्बन्धित मन्त्रालयका मन्त्रीकै संयोजकत्वमा ५ सदस्यीय व्यवस्थापन समिति बनाइनेछ र सो समितिले बैठक बसेर दिवस समारोह कार्यक्रम स्वीकृत र बजेट निर्धारण तथा अनुमोदन गर्नेछ । सो बैठक वापत समिति पदाधिकारीहरुले बैठक भत्ता पाउने व्यवस्था गरिएको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !