जनकपुरधाम । हत्या आरोपमा धनुषाको सबैला नगरपालिकाका एक वडाध्यक्ष प्रहरीले पक्राउ गरेका छन ।
सडक विस्तारको क्रममा सिमासाल गाड्ने विषयमा भएको विवादमा सबैला नगरपालिका ४ का स्थानीय सुमिन्त्रा देवी यादवको कुटपिट गरी हत्या गरिएको घटनाको आरोपमा सोही वडाका अध्यक्ष कुशेश्वर ठाकुरलाई ईलाका प्रहरी कार्यालय सबैलाले पक्राउ गरेको हो ।
ती घटनाको ज्यान मार्ने उद्योगमा १० जना आरोपित मध्ये वडाध्यक्षलाई शनिवार नै पक्राउ गरिएको बताइएको छ । गत बैसाख १३ सडक बिस्तारको क्रममा सिमासालको विषयमा दुई पक्षबीच भएको विवादमा सुमिन्त्रालाई कुटपिट गरी घाइते बनाइएको थियो । उपचारको क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा उनको मृत्यु भएको थियो ।
दुई पक्षबीच भएको सो कुटपिट घटनामा सुमिन्त्रा सहित स्थानिय रामचन्द्र बिराजी, रितिक यादव, दिपक यादव र रंजित यादव समेत घाइते भएको थियो । घाइते मध्ये सुमिन्त्राको उपचारको क्रममा मृत्यु भएपछि परिवारजनले वडाध्यक्ष सहित १० जना बिरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङ्गमा कर्तव्य ज्यान उद्योगको मुद्दा दर्ता गराएको थियो ।
मुद्दाको अनुसन्धानको क्रममा मोरंग प्रहरीले उक्त मुद्दा धनुषाको इलाका प्रहरी कार्यालय सवैलालाई गत जेठ १६गते पठाएका थिए । ईप्रका सबैलामा मुद्दा आइसकेपछि घटनाको अनुसन्धानको क्रममा फरार आरोपित मध्ये वडाध्यक्ष आफै गिरफ्तारी दिएको ईप्रका सबैलाका प्रमुख राजेश सिगदेलले बताएका छन । प्रहरी नियन्त्रणमा रहेका कुशेश्वर विरुद्ध सात दिने म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रमुख सिगदेलले जानकारी दिएका छन ।
यता जिल्ला प्रहरी कार्यालय धनुषाले वडाध्यक्ष पक्राउ परेको सम्बन्धमा जानकारी नरहेको बताएका छन । जिप्रका धनुषाका प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक जितेन्द्र बस्नेतले वडाध्यक्ष पक्राउ परेका वा गिरफ्तारी भएको सम्बन्धमा कुनै जानकारी आएको छैन, घटना बुझ्छु बताए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !