जनकपुरधाम । महोत्तरी प्रशासनले विश्वकर्मा पुजाको अवसरमा आर्केष्ट्रा आयोजना नगर्ने निर्देशन दिदै आएपनि जिल्लाको विभिन्न ठाउँमा आर्केष्ट्रा आयोजना गरियो र सो क्रममा एकजनाको मृत्यु भएको छ भने दुई जना पक्राउ परेको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार मृत्यु हुनेमा जिल्लाको सोनमा गाउँपालिका २ तरहारी इमलिया टोलका ५० वर्षीय रामप्रसाद राय यादव छ भने सो घटनामा मृततका दुई छोरा घाइते समेत भएका छन ।
गएराति विश्वकर्मा पुजाको अवसरमा गाउँपालिका वडा नं. ७ मैनटोलामा आयोजित आर्केष्ट्राको क्रममा अश्लील गीतमा हो हल्लाको क्रममा यादवसँग अर्को पक्षबीच विवाद भएको थियो । सो विवाद बढेर दुई पक्षबीच भएको हानाहानमा परी यादव घाइते भएको थियो ।
घाइते यादवको उपचारको क्रममा आज गौशाला स्वास्थ्य चौकीमा मृत्यु भएको प्रहरी उपरिक्षक आचार्यले बताए । सो घटनामा उनका छोरा २४ वर्षीय मोदनारायण राय यादव र २२ वर्षीय सरोज यादव घाइते भएका छन् ।
घटनाको छानबीनको क्रममा झडपमा संलग्न रहेको आरोपमा स्थानीय ३५ वर्षीय मलेशी सदा र २८ वर्षीय नथु सदालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी उपरिक्षक आचार्यले भने कुटपिट भएको घटनामा यी दुई जना बाहेक अझै चार÷पांच जना रहेको छ तिनीहरुको पनि खोजतलाश जारी रहेको छ ।
गत तीन दिनअघि जिल्ला प्रशासन कार्यालयले विश्वकर्मा पूजाको अवसरमा आर्केष्ट्रा लगायतका भीडभाड हुने खालका कुनैपनि कार्यक्रम आयोजना नगर्न सार्वजनिक सूचना नै जारी गरेको थियो । जिप्रकाका सूचनाका बावजूत महोत्तरी जिल्लाको विभिन्न ठाउँमा विश्वकर्मा पुजाको अवसरमा आकेष्ट्रा आयोजना गरियो । महोत्तरीले प्रहरीले विश्वकर्मा पुजाकै दिन जिल्लाको भिट्ठामोड नाकाबाट आर्केष्ट्राका लागि नेपाल प्रवेश गरिरहेका ३५ जना भारतीय युवतीलाई नियन्त्रणमा लिएको थियो ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !