जनकपुरधाम । महोत्तरी प्रहरीले नेपाली नक्कली नोट सहित भारतीय युवक र बालक सहित दुई जनालाई पक्राउ गरेको छ ।
शुक्रवार राति करीब साढे ८ बजे जिल्लाको औरही नगरपालिका १ औरही बजारबाट गस्तीमा खटेका प्रहरीले भारत बिहार राज्यको सीतामढी जिल्ला मनपौर ग्राम पंचायत निवासी २१ वर्षिय पिन्टू कुमार राय र त्यहीका १२ वर्षिय रितेश कुमार सिंहलाई पक्राउ गरिएको महोत्तरीले जनाएको छ ।
प्रहरी चौकी औरहीका असई राजेश प्रसाद यादवको कमान्डमा खटिएको प्रहरी टोलीले उनीहरुलाई औरही बजारको एक पान पसल र स्याउ पसलमा सामान किन्दा नक्कली नोट हो भन्ने हो हल्ला हुँदा तिनीहरुलाई पक्राउ गरिएको कुरा जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
पक्राउ परेका दुवैजनालाई राति गौशाला नै ईलाका प्रहरी कार्यालय गौशालामा बुझाइएको कुरा ईप्रका गौशालाका प्रमुख प्रहरी निरिक्षक प्रदीप बस्यालले जनाएको छ । उनका अनुसार पक्राउ परेकाहरुको साथबाट २२ वटा एक हजारको नक्कली नोट सहित २२ हजार रुपैया बरामद गरिएको छ । पक्राउ परेका साथबाट बिआर ३०७ भी ९४८७ नम्बरको एक स्कूटर समेत बरामद गरिएको छ ।
नेपाली नोट कहाँबाट ल्याइएको भन्ने प्रसंगमा प्रहरी निरिक्षक बस्यालले अनुसन्धानको क्रममा आरोपितले आफ्नै गाउँ मनपौरको एक स्टुडियोबाट फोटोकपी गराएर ल्याएको बताएको भने ।
उनका अनुसार आरोपित मध्येका पिन्टु यसअघि तीन पटक नेपाल आएर नक्कली नेपाली नोटको कारोबार गरिसकेका छन । यस पटक चाहिं पक्राउ परेको हो, विशेष अनुसन्धान र आवश्यक कारवाहीका लागि जिप्रका पठाइने उनले बताए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !