जनकपुरधाम, भदौ ३१ गते । कोभिड विरुद्धको खोप बेचेको आरोपमा धनुषाको शहीदनगर नगरपालिका ६ यदुकोहामा स्वास्थ्यकर्मी र एक औषधी पसले सहित दुई जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेहरुमा यदुकोहाका श्रीराम मेडिकल हलका संचालक कमलेश मण्डल र प्राथमिक स्वास्थ्य केन्द्र यदुकोहाका स्वास्थ्यकर्मी देवशरण देवशरण यादव रहेको ईलाका प्रहरी कार्यालय यदुकोहाले जनाएको छ ।
वैदेशिक रोजगारमा जानेहरुलाई २ हजार देखि ५ हजार रुपैयासम्म बेचेर खोप लगाइरहेको गुनासो आउन थालेपछि नगरप्रमुख उदय बरबरिया यादवको नेतृत्वमा सुशासन समितिका पदाधिकारीहरुले गरेको अनुगमनको क्रममा औषधि पसले मण्डललाई नियन्त्रणमा लिंदा स्वास्थ्यकर्मीको यादको पनि संलग्नता रहेको खुल्न आएपछि उनलाई पनि पक्राउ गरिएको थियो ।
कोभिड विरुद्धको खोप सशुल्क विक्री भइरहेको गुनासो आउन थालेपछि समितिले प्रहरीको सहयोगमा यदुकोहा स्थित श्रीराम मेडिकल, मञ्जु मेडिलक हल र चौधरी मेडिकल हलमा अनुगमन गरेका थिए । अनुगमनको क्रममा श्रीराम मेडिकल हलबाट जोनसन एण्ड जोनसन एक भाइल, भेरोसिल ४ भाइल, एस्ट्रोजेनिका एक भाइल बरामद गरिएको थियो ।
खोप बरामद भए लगतै सो मेडिकल हलमा सिलबन्दी गरी आरोपित औषधि पसल संचालक मण्डललाई नियन्त्रणमा लिई ईप्रका यदुकोहामा बुझाइएको थियो । ईप्रकामा अनुसन्धान गर्दै जाँदा कोभिड विरुद्धको सो खोप स्वास्थ्यकर्मी यादवबाट किनिएको सहस्य खुलेपछि तिनलाई स्वास्थ्य केन्द्रबाट पक्राउ गरिएको छ ।
नगर कार्यपालिकाले खोप बेच्ने आरोपमा पक्राउ परेका दुवै जना विरुद्ध आवश्यक छानबीन गरी कारवाही प्रक्रिया गरिने एक प्रेस विज्ञप्ति जारी जनाएको छ ।
सो भ्याक्सिन २ हजार ५ सय देखि ५ हजार रुपैयाँ सम्म लिएर वैदेशिक रोजगारमा जान चाहने व्यक्तिहरुलाई दिदैँ आएको र यसको लागि थप अनुसन्धान शहिदनगर नगरपालिकाले समेत अन्य मेडिकल पसलको अनुगमन गर्ने भएका छन् ।
यता धनुषाका प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले कोरोना संक्रमण विरुद्धको खोप विक्रि वितरण गरिरहेको आरोपमा मेडिकल संचालक मण्डल र स्वास्थ्यकर्मी यादवलाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाइ सकिएको जानकारी दिएका छन । @ ईकागज
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !