जनकपुरधाम, भदौ २९ गते । प्रदेश २ सरकारले कोभिड रोकथाम तथा नियन्त्रणका लागि चलाएको “नो मास्क नो सर्भिस” अभियान सरकारका मन्त्रीहरुकै कारण असफल हुन लागेको छ ।
गत दुई दिनअघि मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा बसेको प्रादेशिक कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकबाट तेश्रो लहरको कोभिड नियन्त्रण तथा रोकथामका लागि सर्वसाधारणमा जनचेतना जगाउन नो मास्क नो सर्भिस अभियान थालनीको निर्णय संगै संचालन गरिएको थियो ।
कोभिड १९ को सङ्क्रमितहरुको सङ्ख्यामा कमि आए लगतै मास्कको प्रयोगमा सर्बसाधारणले हेलचक्र्याई गर्न थालेको ठहर गर्दै प्रदेश सरकारले सरकारी कार्यालयहरुमा उक्त अभियान चलाउने निर्णय गरेको थियो । सो बैठकबाट मास्क प्रयोगमा सर्बसाधारण लाई सचेतनाका लागि सञ्चारमाध्यमहरु मार्फत बिज्ञापन प्रशारण प्रकाशन गराउने निर्णय समेत गरेको थियो । तर कार्यक्रम संचालनको एक दिन नबित्दै प्रदेश सरकारका मन्त्रीहरुले नै अभियानको खुलेयाम अटेर गर्दै बिना मास्कको सार्वजनिक तथा कार्यालयको औपचारिक कार्यक्रमहरुमा सहभागी भइरहेका छन । उनीहरुको यस्तो गतिविधिले अभियान नै असफ हुने सम्भावना बढेको छ ।
प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री रामसरोज यादव, खानेपानी तथा उर्जा मन्त्री ओमप्रकाश शर्मा र अर्थमन्त्री शैलेन्द्र साह लगायतका मन्त्रीहरुले सो अभियानलाई बेवास्ता गर्दै बिना मास्कको सार्वजनिक कार्यक्रमहरुमा सहभागी र कार्यालय समेतमा बस्दै आएको देखिएको छ । उनीहरुको यो व्यवहारले आम जनमानसमा मन्त्रीले नै अभियानलाई बेवस्ता गरिरहेको छ भने हामी किने पालना गर्ने भन्ने मानसिकता बन्न थालेको छ ।
सोमवार प्रदेश सरकारको जनता आवास शिलान्यास कार्यक्रममा भौतिक पुर्वाधार विकास मन्त्री रामसरोज यादव र उनीसँगै सहभागी सरकारका अन्य पदाधिकारी तथा सहभागीहरुले अभियानलाई बेवास्ता गर्दै बिना मास्ककै कार्यक्रम अवधिभर बसि रहे ।
कार्यक्रमका अध्यक्षता गरेका प्रदेश सभा सदस्य शिवचन्द्र चौधरीलाई तपाई संचालन गरेको कार्यक्रममा मन्त्री र सहभागीहरुले मास्क नलगाएको जिज्ञासामा उनले भने त्यो कुरा त मन्त्री र सरकारका पदाधिकारीहरुले आफै सोच्नुपर्ने विषय हो । अभियान संचालनकर्ताहरुले नै अटेर गर्नु उनीहरुको मुर्खता हो ।
उनले भने कोभिड महामारीले यो कुन व्यक्ति भनेर कसैलाई चिन्दैन जो कोहीलाई पनि संक्रमण लाग्न सक्छ । सार्वजनिक पद धारण गरेका व्यक्तिहरुको आफू र अरुलाई बचाउन प्रमुख दात्वि हो । तर आफै मास्क नलगाउनुको अर्थ उहाँहरुको मुर्खता बाहेक केही होइन । सार्वजनिक कार्यक्रम मात्र होइन प्रदेश सरकार र ती मातहतका मन्त्रालय तथा कार्यालयहरुमा मन्त्री देखि कर्मचारीसम्म कसैलेपनि आ आफ्ना कार्यकक्षमा औपचारिक कार्यक्रममा मास्क लगाएको देखिदैन ।
मन्त्री यादवलाई अभियान विपरित मास्क किन नलगाएको सम्बन्धमा बुझ्न खोज्दा उहाँले आफू कार्यक्रममा छु भनेर कुरा चाहनु भएन । पछि पटक पटक फोन गर्दा पनि रिसिभ गरेन । सोही दिन अर्थ मन्त्री शैलेन्द्र प्रसाद साहलाई बधाई दिन खानेपानी तथा उर्जा मन्त्री ओमप्रकास शर्माले आयोजना गरेको कार्यक्रममा सहभागीको कुरै छाडै दुवै मन्त्री समेतले मास्क लगाएका थिएनन ।
अभियानको प्रभावकारिता बारे सरोकारवाला निकाय समाजिक विकास मन्त्रालयका सचिव इमानारायण श्रेष्ठले भने “नो मास्क नो सर्भिस” अभियान कार्यालयमा सेवा लिन आएका सेवाग्राहीका लागि मात्र नभई मन्त्रीसम्का लागि संचालन गरिएको हो । अब मन्त्रीज्यूहरु आफै मास्क लगाउनु हुन्न भने यसमा केही भन्न सक्दैन । तर उहाँहरुको चेतना र अभियानको प्रभावकारिताका लागि यो अभियान प्रत्येक जिल्लामा मन्त्रीज्यूहरुकै प्रमुख आतिथ्यमा कार्यक्रम संचालन गरिनेछ, बाध्यवश उहाँहरु मास्क लगाएपछि शायद चेतना आउने हो ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !