जनकपुरधाम । चालु आर्थिक वर्षका लागि गत असार महिनामा ओली सरकारले ल्याएको बजेट खारेज गर्दै देउवा नेतृत्वको सरकारले १४ अर्ब कम सहितको नयाँ बजेट ल्याएको छ ।
वर्तमान सरकारले चालु आर्थिक वर्षका पछिल्लो सरकारले ल्याएको १६ खर्ब ४७ अर्ब ५७ करोडबाट १४ कटौती गर्दै १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैया बराबरको बजेट ल्याएको छ । ओली सरकारले अध्यादेश मार्फत बजेट ल्याएका थिए भने देउवा सरकारले प्रतिष्थापन विधेयक मार्फत अर्को बजेट ल्याएका हुन ।
निवर्तमान अर्थमन्त्री विष्णु पौडलले अध्यादेशमार्फत ल्याएको बजेटमा वर्तमान अर्थमन्त्री जनार्दन शर्माले कैंची चलाउंदै १४ अर्ब ७४ करोड रुपैयाँले घटाएर प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट संसदमा प्रस्तुत गरेका छन ।
मन्त्री शर्माले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट सार्वजनिकर गरेका हुन् । कुल विनियोजन मध्ये संघले खर्च गर्ने चालु तर्फ ६ खर्ब ७७ अर्ब ९९ करोड रुपैयाँ विनियोजन गरिएको छ । चालु खर्चमा एक अर्ब ४२ करोड रुपैयाँ कटौती भएको छ ।
पुँजीगत तर्फ ३ खर्ब ७८ अर्ब १० करोड रुपैयाँ खर्च गर्ने यो सरकारले लक्ष्य राखेको छ । पुँजीगत बजेटमा तीन अर्ब ८४ करोड रुपैयाँले वृद्धि भएको छ । वित्तीय व्यवस्थातर्फ सरकारले १ खर्ब ८९ अर्ब ४४ करोड विनियोजन गरेको छ ।
प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरण तर्फ ३ खर्ब ८७ अर्ब ३० करोड रुपैयाँ छुट्याइएको छ । वित्तीय हस्तान्तरण तर्फ विनियोजित बजेट मध्ये चालु खर्चमा समानीकरण अनुदान सहित ३ खर्ब २५ अर्ब ७५ करोड रुपैयाँ र पुँजीगततर्फ ६१ अर्ब ५५ करोड रुपैयाँ छ ।
चालु आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये राजस्वबाट १० खर्ब ५० अर्ब ८२ करोड रुपैयाँ र वैदेशिक अनुदानबाट ५९ अर्ब ९२ करोड रुपैयाँ व्यहोर्ने उल्लेख छ र चालु, पुँजीगत र वित्तीय हस्तान्तरण तर्फ विनियोजित खर्चमा राजस्व र वैदेशिक अनुदानबाट व्यहोर्दा पाँच खर्ब २२ अर्ब ९ करोड न्यून हुने देखिन्छ ।
वित्तीय व्यवस्था तर्फको विनियोजित रकम समेत समावेश गर्दा कुल विनियोजनमा न्यून हुने रकम मध्ये वैदेशिक ऋणबाट दुई खर्ब ८३ अर्ब ९ करोड र आन्तरिक ऋणबाट २ खर्ब ३९ अर्ब व्यहोरिने उल्लेख छ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !