जनकपुरधाम । जिल्ला अदालत धनुषाले आफ्नै श्रीमतिमाथि एसिड प्रहार गर्ने एक व्यक्तिलाई १० वर्ष ६ महिना कैद सजाय सहित जरिवाना र क्षतिपुर्ति तिर्न फैसला गरेको छ ।
बिहीवार जिल्ला अदालत धनुषाको बेन्च नम्बर ३ बाट न्यायधिश कृष्ण मुरारी शिवाकोटीको एकल इजलाशबाट आफ्नै श्रीमतिमाथि एसिड प्रहार गर्ने देउपुरा निवासी संजिव साहलाई कैद सजाय सहित ६ लाख ५० हजार जरिवना र ६ लाख ५० हजार रुपैया पिडितलाई क्षतिपुर्ति तिर्नुपर्ने फैसला सुनाइएको हो ।

जनकपुरधाम वडा नम्बर ७ जानकी स्थित ससुरालीमा बसेकाे आएका संजीवले घरायसी विवादका कारण कात्तिक ७ गते दिपावलीका दिन आफ्नो श्रीमति आरती साहमाथि एसिड प्रहार गरी घाइते बनाएको थियो । सो घटनामा संजीवकी छोरी रिया साह समेत घाइते भएकी थिइन ।
जिल्ला अदालत धनुषाले यसअघि साउन २५ गते संजिव साहलाई दोषी ठहर गरेको थियो भने सजाय आज सुनाएको हो । घटनामा एसिड बेच्ने नागेन्द्र साहलाई अदालतले सफाइ दिएको थियो ।
घटना पश्चात सरकारी वकिलको कार्यालयले जिल्ला अदालत धनुषामा आरतीका श्रीमान र एसिड बेच्ने नागेन्द्र साहमाथि १५ वर्ष ६ महिनाको सजाय माग गर्दै अभियोग पत्र दर्ता गराएका थिए ।
दुबै जनाबिरुद्ध अंगभंग, कुरुप र एकीकृत कसुर गरी ३ कसुरको सजायका लागि मागदावी गरिएको थियो । एसिड आक्रमणबाट आरतीको दाहिने आँखा गुम्नुका साथै घाँटी, छाती, स्तन लगायतका अंग कुरुप बनेको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !