जनकपुरधाम, भदौ ८ गते । धनुषामा एक युवकले आफ्नो बुवा र श्रीमतिबीच अनौतिक सम्बन्धमा रहेको आशंकामा हत्या गरेको छ ।
धनुषाको मिथिला बिहारी नगरपालिका ५ ललिया निवासी भागेश्वर मण्डलले आफ्ना बुवा ५५ वर्षिय रामवृक्ष मण्डल र श्रीमति २१ वर्षिय मृता मण्डलको हत्या गरेको हो । घटना सार्वजनिक भए लगतै उनलाई नियन्त्रणमा लिइसकेको छ ।
आफ्ना बुवा र श्रीमतिबीच अनौतिक सम्बन्ध रहेको आशंकामा ३० वर्षिया भागेश्वरले सोमवार राति नै तिनीहरुलाई हत्या गरी घर नजिकको रहेको आँप झाडीमा शव गाडेर वेपता भएको खबर फैलाएको थियो । मंगलवार विहान ससुरा बुहारी वेपता भएको खबर फैलिएपछि खोज्दै जाँदा शव गाडिएको शंकास्पद ठाउँ देखेपछि प्रहरीलाई खबर गरेको कुरा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक जितेन्द्र बस्नेतले जनाएको छ ।

प्रवक्ता वस्नेतका अनुसार घटनाको प्रकृति हेर्दा भाटा लिएर टाउकोमा प्रहार गरी हत्या गरिएको हो । दुवैको टाउकोमा गहिरो चोटका कारण मृत्यु भएको हो, तर शरीरका अन्य भागमा पनि चोटपटकको निशान देखिएको छ ।
उनले भने घटना लगतै आरोपित भागेश्वर घरबटै पक्राउ गरी अनुसन्धान प्रक्रिया बढाइ सकिएको छ । आरोपित भागेश्वरले आफ्नो बुवा र श्रीमतिबीच अनौतिक सम्बन्ध रहेको कारण हत्या गरेको स्वीकार गरिसकेको प्रवक्ता बस्नेतले बताए ।
शव उत्खन्न गरी पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा पठाइ सकिएको र आरोपित विरुद्ध कर्तव्य ज्यानको मुद्दा दायर थप अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
स्थानीयका अनुसार भागेश्वर एक वर्ष अघि वैदेशिक रोजगारीबाट घर फर्केका थिए । घर फर्केपछि उनले बुबा र श्रीमतीबीच अनैतिक यौन सम्बन्ध रहेको आशंका गर्दै आएका थिए । सो कारणले दिनहुँ बुवा र श्रीमतिसँग उनको झै झगडा हुँदै आएको थियो । सोही आशंकाको आधारमा उनले आफ्ना बुबा र श्रीमतीको हत्या गरेको हुन सक्ने स्थानीयको आशंका छ । भागेश्वर र अम्रिकादेवीका दुई छोरा छोरी छन् ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !