जनकपुरधाम, श्रावण १ गते । प्रदेश नम्बर २ सरकारमा माओवादी केन्द्र पनि सहभागी हुने भएकाे छ ।
मुख्यमन्त्री लालबाबु राउतसंगकाे पछिल्लाे आन्तरिक सहमति अनुसार मन्त्रिपरिषद विस्तारमा कांग्रेसपछि अब माओवादी केन्द्र पनि सरकारमा सहभागी हुन लागेकाे हाे ।
माओवादी केन्द्रबाट संसदीय दलका नेता रहेका भरत प्रसाद साह मन्त्री र रूबी कर्ण राज्यमन्त्री बन्ने जनाइएकाे छ ।
जनता समाजवादी पार्टी यादव समुहका आन्तरिक मामिला तथा संचार मन्त्री ज्ञानेन्द्र यादवलाई राजिनामा दिलाएर माओवादीबाट भरत प्रसाद साहलाई मन्त्री बनाउन लागेकाे हाे ।
नेकपा माओवादी केन्द्रलाई सरकारमा सम्मलित गरेर मन्त्रीपरिषद विस्तारको तयारी गरिरहेको अवस्थामा मार्ग प्रशस्त गर्न आफूले राजीनामा दिन लागेको मन्त्री यादवले बताए ।
उनले अहिलेको अवस्थामा सर्वपक्षीय सर्वदलीय सरकार निर्माण वर्तमान आवश्यकता रहेकोले आफ्नो राजीनामा आउन लागेको जानकारी दिए ।
तर मन्त्री बन्न लागेका नेता साहले भने “मन्त्रालयकाे टुंगाे अहिले लागेकाे छैन, जसपा उपेन्द्र समुहका एक मन्त्रालय रिक्त गराई हामीलाई दिने सहमति भएकाे हाे ।” साे सहमति अनुसार भोली ३ बजे सपथ ग्रहण कार्यक्रम तय गरिएकाे छ ।
जसपा यादव समूह काेटामा मुख्यमन्त्री राउत सहित आन्तरिक मामिला तथा संचार मन्त्रालय, भुमि व्यवस्था, कृषि तथा सहकारी, अर्थ मन्त्रालय रहेकाे छ भने ठाकुर समुहका मन्त्री नवल किशाेर साह र रामनरेश राय पनि पार्टी भित्र विवाद चुलिएपछि यादव समुहमै आएका छन ।
जसपा भित्र विवाद भएपछि यादव समुहका मुख्यमन्त्री राउतले ठाकुर समुहका भाैतिक पुर्वाधार मन्त्री जितेन्द्र साेनल सहित तीन राज्यमन्त्रीलाई हटाएका थिए ।
ठाकुर समुहका मन्त्रीलाई हटाएपछि भाैतिक मन्त्रालय सहित विभिन्न मन्त्रालय फुटाएर कांग्रेसलाई भाैतिक पुर्वाधार, खानेपानी तथा उर्जा र महिला तथा बालबालिका मन्त्रालय दिइएकाे थियाे ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !