जनकपुरधाम, असार १४ गते । प्रदेश २ लाई हरित बनाउन साढे १४ लाख रुख विरुवा रोप्ने अभियान थालिएको छ ।
राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा शुभारम्भ गरी सात दिवसीय अभियान अन्तर्गत प्रदेशका आठवटै जिल्लाका १ हजार १ सय ३५ हेक्टर जग्गामा १४ लाख ४६ हजार ७ सय ९६ रुख विरुवा रोपिने उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा. रामचन्द्र कडेलले जानकारी दिएका छन ।
प्रदेश हरित अभियान २०७८ को मुख्यमन्त्री लालबाबु राउतले धनुषाको मिथिला नगरपालिका ४ पुष्पवलपुरमा एक कार्यक्रमका बीच वर पिपलको रुख रोपेर शुभारम्भ गरेका छन ।

डिभिजन वन कार्यालय धनुषाद्वारा आयोजित हरित अभियान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले दिनदिने चुरे वन जंगल लगायतका मासिदै गएपछि आउने दिनमा प्रदेशवासीलाई आक्सीजनको समस्या मात्र होइन सिचाईका जलको समस्या उत्पन्न हुनेछ र बाढी भूक्षय लगायतका समस्या आउने भएकोले प्रदेशलाई हरित बनाउन अभियान थालिएको बताए ।
अभियानको शुभारम्भका लागि आठवटै जिल्लामा एक साथ गरिएको छ । धनुषामा मुख्यमन्त्री राउत, सप्तरीमा सामाजिक विकासमन्त्री नवल किशोर साह, सिरहामा अर्थमन्त्री विजय कुमार यादव, महोत्तरीमा आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री सरोज सिंह कुशवाहाले शुभारम्भ गरेका छन ।
त्यसैगरी सर्लाहीमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री राम नरेश राय र महिला बालवालिका तथा खेलकुद मन्त्री विरेन्द्र कुमार सिंह, रौतहटमा भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादव, बारामा अर्थराज्यमन्त्री उषाकुमारी यादव र पर्सामा उर्जा तथा खानेपानी मन्त्री ओम प्रकाश शर्माले अभियानको शुभारम्भ गरेका छन ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !