जनकपुरधाम, असार १५ गते । धनुषामा निषेधाज्ञा थप खुकुलो बनाउंदै एक साता पुनः थप गरिएको छ ।
मंगलवारदेखि लागू हुने गरी जिल्ला भित्र सबै प्रकारका सवारी साधन संचालन गर्न पाउने छुट दिइएको छ । जिल्लाबाट अन्य जिल्लामा जाने र लामो दूरीका सार्वजनिक सवारीसाधन बाहेक जिल्लाभरि सार्वजनिक सवारीसाधन चलाउन पाउने निर्णय गरिएको छ ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिले यसअघि जिल्ला दुई पांग्रे र रिक्सा लगायतका सवारी साधन मात्र संचालन गर्न पाउने गरेको निर्णयमा संक्रमणको दर घटदै गएपछि लकडाउन खुकुलो बनाउंदै जिल्ला भित्र अन्य सवारी साधन पनि चलाउन पानउे निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद वास्तोलाले जानकारी दिए ।
जिल्ला संकट व्यवस्थापन समितिको सोमबार बसेको बैठकबाट मंगलवारदेखि लागू हुने गरी पुनः असार २१ गतेसम्मको लागि निषेधाज्ञा बढाउने निर्णय गरिएको हो ।
अब धनुषामा सरकारी तथा अर्धसरकारी निकाय, स्थानीय तह, बैंक तथा वित्तीय संस्थाहरु सञ्चालन हुने भएका छन् । भीडभाड हुन नदिई स्वास्थ्य मापदण्डको पालना गरी नियमित सेवा सुचारु गर्न दिने निर्णय भएको प्रजिअ बास्तोलाले बताए । यसअघि दिउंसो ३ बजेसम्म अत्यावश्यक पसल व्यवसाय संचालनलाई यथावतै राखिएको उनले बताए ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !