जनकपुरधाम, असार १२ गते । प्रदेश २ को रौतहट जिल्लाको मौलापुर नगरपालिकाका प्रमुख र उपप्रमुखको पद रिक्त भएपछि कार्य कसले गर्ने भन्ने संवैधानिक जटिलताले अन्यौलता श्रृजना भएको छ ।
निर्वाचन आयोगले असार ११ गते मौलापुर नगरपालिकाका प्रमुख रिनाकुमारी साह र उपप्रमुख गौरी शंकर प्रसादलाई दल त्याग गरेको भन्ने सम्बन्धित पार्टी माओवादी केन्द्रको सिफारिसमा पदमुक्त भएपछि यस्तो अन्यौलता श्रृजना भएको हो ।
नगरपालिकामा प्रमुख र उपप्रमुख दुवै पद रिक्त भएपछि त्यसको कार्यभार कसले सम्भालने भन्ने अन्यौलता श्रृजना भएको छ । प्रमुखको पद रिक्त भएमा उपप्रमुखले कार्यभार सम्भाल्ने, उपप्रमुखको पद रिक्त भएपछि प्रमुखले ताकेको कार्यपालिका सदस्यलाई जिम्मेवारी दिइने कानूनी व्यवस्था रहेको छ । तर दुवै पद रिक्त भएपछि अब कार्यपालिकाको निती नियम र योजना छनौट लगायतका कार्य संचालन कसले गर्ने समस्या उत्पन्न भएको सो नगरपालिकाका प्रशासकीय अधिकृत रामबाबु साहले बताएका छन ।
संचारकर्मीसँग कुरा गर्दै अधिकृत साहले भने नगरपालिका संचालनका लागि योजना छनौट देखि कार्य विभाजन, र आर्थिक विनियोजन लगायतका कार्य प्रमुख र उप्रमुखबाट हुने कानूनी व्यवस्था रहेकोले अब ती पदहरु नै रिक्त भएपछि सो कार्य कसले गर्ने भन्ने कानूनी जटिलता र अन्यौलता श्रृजना भएको छ ।
स्थानीय तह संचालन ऐन २०७८ बमोजिम प्रमुख उपप्रमुख अनुपस्थित रहेको अवस्थामा कार्यपालिका बोर्डको जेष्ठ सदस्यको अध्यक्षतामा बैठक बसाउन सक्ने व्यवस्था त छ तर त्यो निती निर्माण र अत्यावश्यक निर्णयका लागि मात्र हो योजना छनौट, सिफारिस, आर्थिक विनियोजनको अधिकार ती सदस्यमा रहेको छैन ।
यस्तो अवस्थामा सरकारले कुनै वैकल्पिक व्यवस्था नगरेसम्म नगरपालिकाको चालु आर्थिक वर्षको विकास निर्माणको कार्य अवरुद्ध मात्र हुँदैन कि आगामी आर्थिक वर्षका लागि समेत योजना छनौट हुन सक्दैन अधिकृत साहले भने ।
कानूनी व्यवस्था
संविधानमा प्रमुख वा अध्यक्षको पद रिक्त भएमा त्यसको कार्यभार उपप्रमुख वा उपाध्यक्षले कार्यवाहकको रुपमा सम्भाल्ने व्यवस्था छ । तर दुवै पद रिक्त भएको अवस्थामा एक वर्षभन्दा बढी कार्यकाल बाँकी रहेको अवस्थामा उपनिर्वाचनबाट पदपूर्ति गर्ने व्यवस्था रहेको छ ।
कानून विद् राजकुमार महासेठका अनुसार संविधानको धारा २१६ को उपधारा ६ बमोजिम प्रमुख/उपप्रमुख वा अध्यक्ष/उपाध्यक्षको पदावधि निर्वाचित भएको दिनदेखि पाँच वर्ष तोकिएको छ । सो संवैधानिक व्यवस्था अनुसार पदमुक्त भएका जनप्रतिनिधिको पदावधि पांच पुगेको छैन । यस्तो अवस्थामा संविधानको धारा २१६ को उपधारा ९ बमोजिम एक वर्षभन्दा बढी कार्यकाल बाँकी रहेकोमा उपनिर्वाचनबाट पदपूर्ति गर्ने व्यवस्था रहेको छ ।
माओवादी केन्द्रले आफ्नो पार्टीबाट निर्वाचित भएका स्थानीय तहका जनप्रतिनिधिहरु दल परित्याग गरी एमाले पार्टीमा प्रवेश गरेको भन्दै राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ३१ र ३२ तथा राजनीतिक दल सम्बन्धी नियमावली २०७४ को नियम २२ बमोजिम दल त्याग गरेको व्यहोरा निर्वाचन आयोगलाई जानकारी गराएपछि असार ११ गतेदेखि लागू हुने गरी देशका १४ वटा स्थानीय तहका जनप्रतिनिधिहरुको आयोगले पद रिक्त गरेको थियो ।
सो मध्ये प्रदेश २ का विभिन्न स्थानीय तहका ९ जना जनप्रतिनिधिको पद रिक्त हुन गएको छ । पद रिक्त हुनेमा रौतहट जिल्लाका मौलापुर नगरपालिकाका प्रमुख, उपप्रमुख, कटहरिया नगरपालिकाका प्रमुख, देवाही गोनाही नगरपालिका, फतुवाविजयपुर नगरपालिकाका उपप्रमुख र यमुनामाई गाउँपालिकाका उपाध्यक्ष रहेका छन ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !