मलंगवा, असार ११ गते । प्रहरीले सर्लाहीको ब्रहम्पुरी गाउँपालिका- ४ स्थित त्रिभुवननगरबाट अवैध हतियारसहित दुई जना भारतीय नागरिक पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा भारतको बिहार राज्य जिल्ला सितामढी मौवाहा ग्राम पञ्चायत वडा नं. ११ बस्ने वर्ष ४५ का संजय कुमार र पुनरदाहा रजवारा पश्चिमी ग्राम पञ्चायत वडा नं. ५ लक्ष्मीपुर बस्ने वर्ष ४० का उमाशंकर महतो रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएकाे छ ।
बिहीबार सांझ बिओपी त्रिभुवननगरबाट खटिएको टोलिले गस्ती गर्दै जाँदा सेखटोल नजिकै रहेको सीमास्तम्भ नं. ३२२-४ (२८) को छेउ हुँदै भारतबाट नेपालतर्फ प्रवेश गर्न लागेको बिआर ३० एन २०३४ नम्बरको मोटरसाइकललाई चेकजांच गर्दा इटाली पेस्ताेल बरामद गरेकाे थियाे ।
साे माेटरसाइकलमा सवार भारतीय नागरिकले पिठ्युँमा बोकेको झोलामा मेड इन इटाली लेखिएको ७.६५ एमएमको अटोम्याटिक पेस्तोल १ थान र त्यसमा लाग्ने ७.६५ एमएमको गोली २ राउन्ड र सोको म्यागजिन २ थान बरामद गरेको थियो ।
साथै उनीहरुले प्रयोग गरेको भारतीय नम्बरको मोटरसाईकल समेत सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका भारतीय नागरिकहरुको साथबाट व्यक्तिगत सरसामान समेत फेला परेको छ ।
व्यक्तिगत सरसामानमा भारतीय रुपैयाँ नगद १२ हजार ३ सय ८० र मोबाइल २ थान नियन्त्रण लिइएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !