जनकपुरधाम, असार १० गते । जनकपुरधाम उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि १ अर्ब ५३ करोड ८७ लाख ६१ हजार रूपैया बरबरको बजेट सार्वजनिक गरेको छ ।
जनकपुरधाम उपमहानगरको सभाकक्षमा सम्पन्न नगरसभामा उपप्रमुख रीताकुमारी मिश्रले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेकी थिइन ।
उपमहानगरले आगामी आर्थिक वर्षका लागि छुट्याइएको बजेटमा चालु तर्फ ६२.२३ प्रतिशत अर्थात ९५ करोड ७५ लाख ६१ हजार र पुजिगत तर्फ ३७.७७ प्रतिशत अर्थात ५८ करोड १२ लाख रुपैयाँ विनियोजन गरेको छ ।
उपमहानगरले ल्याएको बजेटमा चालु खर्च बढी हुनुले विकास निर्माणका कार्यलाई वास्ता नै नगरिएको जस्तो देखिएको अर्थविदहरुको भनाई छ ।
उपमहानगरको बजेट कोरोना महामारीको त्रास कायमै रहेको समयमा स्वास्थ्य, शिक्षा तथा कृषिमा केन्द्रित हुनुको साटो तालिम, बैठक भत्ता, सवारी साधन खरिदमा विशेष केन्द्रि रहेको देखिन्छ ।
बजेटमा आगामी आर्थिक वर्ष सवारी साधन खरिदको लागि ३ करोड २२ लाख रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै सवारी साधन मरम्मतका लागि ५० लाख रुपैयाँ विनियोजन गरिएको हो ।
आगामी आर्थिक वर्षको बजेटमा पदाधिकारी बैठक भत्तामा १ करोड १० लाख, पदाधिकारी अन्य सुविधामा २ करोड ५० लाख रकम विनियोजन गरेको हो । विभिन्न कार्यक्रमको शिर्षकमा समेत बजेट छुट्याइएको छ ।
आगामी आर्थिक वर्षका लागि युवाहरुलाई सीप विकास तालिमका लागि ९९ लाख, कार्यक्रम खर्च शिर्षकमा ५ करोड ३८ लाख ७१ हजार, सार्वजनिक सम्पति मरम्मत सम्भारका लागि २ करोड ५५ लाख, विद्युत संरचना निर्माणका ५ करोड ६१ लाख, अन्य सार्वजनिक निर्माण शिर्षकमा १ करोड बजेट छुट्याइएको छ ।
नगरस्तरीय पूर्वाधार योजनाका लागि ९ करोड र वडास्तरीय पूर्वाधार योजनाका लागि १५ करोड ६० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
उपमहानगरको बजेटमा कोरोना महामारी नियन्त्रण तथा स्वास्थ्य क्षेत्रका लागि आगामी आर्थिक वर्षमा छुट्याइएको बजेट बारे केही खुलाइएको छैन । त्यस्तै फोहोर मैला व्यवस्थापनका लागि बजेट उल्लेख छैन भने सो शिर्षकमा चालु आर्थिक वर्षमा कति रकम खर्च गरियो भन्ने विषयमा समेत उल्लेख गरिएको छैन ।
बजेटमा ठूलो हिनामिना गर्नकै लागि यस प्रकारको बजेट ल्याइएको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष जानीराम साहले आरोप लगाए ।
उनले कुन वडाहरुका लागि छुट्याइएको बजेट समेत एकमुष्ट राखिएकोमा आपत्ति जनाए । उनले भने ‘नगरप्रमुख लालकिशोर साह भ्रष्टाचार गर्ने उद्देश्यले स्पष्ट रुपमा बजेट विनियोजन गरेका छैनन् ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !