जनकपुरधाम, असार ७ गते । कोरोना संक्रमणको दरमा सुधार आएको भन्दै सेवाग्राहीका लागि धनुषा स्थित सरकारी कार्यालयहरु मंगलवारदेखि संचालनमा आउने भएको छ ।
जिल्ला प्रशासन कार्यालय र याता व्यवस्था कार्यालय खुल्ने जनाइएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले एक सूचना गरी सरकारी/अर्धसरकारी/संस्थानहरु आलोपालो गरी खोल्न निर्देशन दिएका छन ।

जिल्ला प्रशासन कार्यलय समेतले आलोपालो गरी विभिन्न स्थानीय तहका सेवाग्राहीलाई सेवा दिने भएको छ । त्यस्तै लामो समयदेखि बन्द रहेको यातायात व्यवस्था कार्यालय जनकपुरधाम खुल्ला गर्ने निर्णय भएको छ ।
कार्यालयका निमित्त प्रमुख विरेन्द्र यादवले सोमबार एक सूचना जारी गर्दै मंगलबारदेखि भीडभाड नहुनेगरी स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई कार्यालयको सेवा सुचारु हुने जानकारी दिएका छन् । यातायात कार्यालयको सेवाहरु सुचारु भएपनि तत्काल सबै सेवा सुचारु नहुने निमित्त प्रमुख यादवले जानकारी दिए ।
वर्तमान अवस्थालाई मध्यनजर गर्दै तत्काल कार्यालयबाट अस्थायी ईजाजत पत्र, तत्काल नबुझाए जरिवाना लाग्ने प्रकृतिका सवारी कर, नविकरण, बाटो इजाजत पत्र, राजश्व दाखिला सेवा, तत्काल नविकरण नभएमा जरिवाना लाग्ने सवारी चालक अनुमति पत्र नविकरण, प्रयोगात्मक परीक्षा पास भई राजश्व बुझाउन बाँकी सेवाग्राहीहरुको राजश्व बुझाउने सेवा मात्र सुचारु हुने कार्यालयले जनाएको छ ।
नयाँ तथा वर्ग थपको आवेदन अर्को सूचना जारी नभए सम्मको लागि स्थगित नै रहेको यातायात कार्यालय जनकपुरधामले जनाएको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !