जनकपुरधाम, असार १ गते । प्रदेश नम्बर २ सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ३३ अर्ब ७९ करोड १४ लाख ३० हजारको बजेट सार्वजनिक गरेको छ ।
मंगलवार प्रदेश सभाको छैठौं अधिवेशनको ९ औँ बैठकमा अर्थमन्त्री विजय कुमार यादवले चालु तर्फ १५ अर्ब ६३ करोड ३३ लाख ४७ हजार कुल बजेटको ४६.२६ प्रतिशत र पूँजीगत तर्फ १८ अर्ब ५ करोड ८० लाख ८३ हजार अर्थात ५३.४४ प्रतिशत बजेट सार्वजनिक गरेको छ ।
वित्तिय व्यवस्थातर्फ १० करोड अर्थात ०.३० प्रतिशत विनियोजन गरिएको छ भने आगामी आर्थिक बर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्ये आन्तरिक स्रोतको राजश्वबाट ३ अर्ब ४ करोड ९१ लाख ३० हजार रहेको छ ।

आगामी आर्थिक वर्षका लागि जेठ २० गतेसम्म नेपाल सरकारको तर्फबाट वित्तिय समानीकरण अनुदान ५ अर्ब २६ करोड ५० लाख, राजश्व बाँडफाँडबाट ५ अर्ब ९८ करोड २४ लाख, संघीय सशर्त अनुदान ५ अर्ब १० करोड २७ लाख, विशेष अनुदान १३ करोड ८३ लाख प्राप्त भएको जानकारी मन्त्री यादवले दिए ।
बजेटमा कोभिड १९ रोकथाम एवं नियन्त्रणका लागि उपचार तथा विभिन्न उपकरण सहित स्वास्थ्य क्षेत्रमा ८१ करोड ३०, शिक्षातर्फ भौतिक पुर्वाधार निर्माण तथा गुणस्तरीय शिक्षाका लागि ३७ करोड ५० लाख, सीप विकास तथा रोजगारीका लागि ५३ करोड ९० लाख, भाषा साहित्यका लागि १६ करोड, भूमि व्यवस्था, कृषि तथा पशुपालनका लागि ४४ करोड ५० लाख, उद्योग, पर्यटन, वन तथा वातारण संरक्षणका लागि १ अर्ब २२ करोड ७४ लाख र भौतिक पुर्वाधार विकासतर्फ २ अर्ब ९८ करोड २० लाख रुपैया छुटयाएको छ ।
त्यस्तै निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि आगामी आर्थिक बर्षमा २ अर्ब ३५ करोड विनियोजन गरिएको छ । प्रदेशभरका स्थानीय तहहरुलाई आगामी आर्थिक बर्षमा वितिय हस्तान्तरणका लागि ३ अर्ब १६ करोड ५० लाख विनियोजन गरिएको छ ।
बजेटको प्रमुख उद्देश्य कोभिड १९ संक्रमण रोकथाम एवं नियन्त्रणमा सम्पूर्ण श्रोत साधन प्रयोग गर्ने, कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि गरी खाद्य सुरक्षाको सुनिश्चितता गर्ने, संघ, प्रदेश र स्थानीय तहको समन्वयमा विकासका लक्ष्यहरु हासिल गर्ने, दक्ष, सबल, सक्षम एवं प्रविधिमैत्रीको जनविकास गर्ने रहेको उनले भने ।
बजेटको अनुमानित श्रोत नेपाल सरकारबाट १३ अर्ब ९० करोड ३४ लाख, आन्तरिक श्रोत राजश्वबाट ३ अर्ब ४ करोड ९१ लाख, राजश्व बाँडफाँडबाट ९ अर्ब ५८ करोड, ८९ लाख, चालु आ.ब. मौज्दात ६ अर्ब २५ करोड गरी ३२ अर्ब ७९ करोड १४ लाख रुपैया आउने छ । बजेटमा कम भएका एक अर्ब रुपैया आन्तरिक श्रोतबाट ऋण लिने बजेट वक्तव्यमा भनिएको छ ।
प्रदेश २ सरकारले चालु आर्थिक वर्ष २०७७÷०७८ का लागि ३३ अर्ब ५६ करोड ९ लाख ८९ हजारको बजेट ल्याएको थियो । जसमा चालु तर्फ १५ अर्ब ४२ करोड २६ लाख ९८ हजार अर्थात ४५.९५ प्रतिशत रकम विनियोजन गरिएको थियो भने पूँजीगततर्फ १७ अर्ब ९७ करोड ८२ लाख ९१ हजार अर्थात ५३.६७ प्रतिशत विनियोजित गरिएको थियो ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !