जनकपुरधाम, जेठ २८ गते । जन्मको आधारमा नागरिकता प्राप्त नागरिकको सन्तानलाई नागरिकता देउ मांग गर्दै सरकार विरुद्ध धनुषाको ढल्केवरमा युवाहरुले प्रदर्शन गरेका छन ।
जिल्लाको मिथिला नगरपालिका स्थित ढल्केवरमा युवाहरुले जन्मसिद्ध, जन्मका आधारमा तथा आमाको नामबाट नागरिकता दिनुपर्ने मांग गर्दै सरकार विरुद्ध विभिन्न प्लेडकार्ड सहित विरोध प्रदर्शन गरेको छ ।
प्रदर्शनमा सहभागी युवाहरुले जन्मसिद्ध नागरिकता भएका सन्तानलाई बंशजको आधारमा नागरिकता देउ, गैर नागरिक बनाउन–पाइँदैन, देशका असल नागरिकको पहिचान गर, संविधान संशोधन गर लगायतका नाराबाजी समेत प्रदर्शन गरेका छन ।

ढल्केवरको खानेपानी कार्यालय अगाडिबाट शुरु गरिएको बिरोध प्रदर्शन नगरको विभिन्न भागमा परिक्रमा गर्दै शहिद स्मार्क पार्क अगाडी पुगेर कोणसभामा परिणत भएको थियो ।
प्रदर्शनमा सहभागी इन्द्रजीत साफीले संविधान जारी भएको ५ वर्ष बित्दा पनि जन्मसिद्ध तथा जन्मको आधारमा नेपालीले नागरिकता पाएको कारण हजारौँ नेपालीका सन्तानहरु सरकारी सेवा र अन्य काम गर्नबाट वंचित रहेको समस्या समाधान नगरी तिनीहरुको भविष्यसँग खेलवाड भइरहेको कारण प्रदर्शन गर्नु परेको बताए ।
उनले भने नागरिकता आभावमा जन्मको आधारमा नागरिकता प्राप्त गरेकाहरुको सन्तान र परिवारका सदस्यले उच्च शिक्षा हासिल गरेर पनि बेरोजगार र विभिन्न अवसरबाट वंचित हुनु परेको बताए ।
वैदेशिक रोजगारमा जान, सरकारी जागिर, बैंक एकाउन्ट खोल्न, मोटरसाइकलको लागि लाईसेन्स, घर जग्गा खरिदविक्रि लगायतका राज्यबाट प्रदान गरिने विभिन्न सेवा सुविधाबाट वंचित भई आफ्नै देशमा अनागरिकको दर्जामा जीवन बिताइरहेको दुखेसो पोखे ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !