जनकपुरधाम, जेठ २६ गते । काँग्रेस विधिवत रूपमा जनता समाजवादी पार्टी उपेन्द्र यादव समूह नेतृत्वकाे प्रदेश २ सरकारमा सहभागी भएको छ ।
मुख्यमन्त्री पदकाे अडानमा रहेकाे कांग्रेस अन्ततः आज दिउंसाे जसपासँग दुई बुँदे सहमति पश्चात ३ वटा मन्त्रालय पाएपछि सरकारमा सहभागी भएका छन ।
प्रदेश प्रमुख राजेश झा (अहिराज) ले काँग्रेसका नव नियुक्त ३ मन्त्रीहरूलाई बुधबार करीब साढे ९ बजे राति पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन ।
काँग्रेसबाट रामसरोज यादव भाैतिक पुर्वाधार मन्त्री, ओमप्रकाश शर्मा खानेपानी तथा उर्जा विकास र वीरेन्द्र सिंह महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रीकाे रूपमा शपथ ग्रहण गरेका छन ।

कांग्रेसबाट एउटापनि महिलालाई मन्त्री नबनाएकाे र महिला सम्बन्धी मन्त्रालयकाे पनि जिम्मेवारी पुरूषलाई दिएकाे भनी सामाजिक सञ्जाल निकै आलाेचना भईरहेकाे छ । हाल १२ वटा मन्त्रीमा मात्र एउटा उषा यादव राज्यमन्त्री रहेकाे छ । संवैधानिक व्यवस्था अनुसार कुल मन्त्रकाे २० प्रतिशत महिला अनिवार्य रूपमा हुनुपर्नेछ ।

माओवादी केन्द्रबाट मन्त्री बनेकाहरूलाई संगै शपथ ग्रहण गराउने भनी मुख्यमन्त्री लालबाबु राउत छलफलमा व्यस्त रहेकाे कारण साढे ७ बजे भनिएकाे शपथ ग्रहण कार्यक्रम दुई घण्टा ढिलाे साढे ९ बजेपछि शपथ ग्रहण भएकाे हाे ।
माओेवादी संग वार्ता असफल भएपछि सरकारमा सहभागी नहुने भएकाे छ । माओवादी दुईवटा मन्त्रालय दिने अनाैपचारिक सहमति भएपनि मुख्यमन्त्री राउतले एउटा मात्रै दिने अन्तिम समयमा अडान राखेपछि वार्ता असफल हुन गएकाे सांसद जगत यादवले बताएका छन ।
जसपाभित्रको आन्तरिक विवादका कारण मुख्यमन्त्री राउतले महन्थ ठाकुर पक्षका एक मन्त्री र ३ राज्यमन्त्रीलाई बर्खास्त गरेर काँग्रेस र माओवादीसँग सहकार्यको हात बढाएका थिए ।
सरकार गठनका लागि ५३ जना प्रदेश सभा सदस्य चाहिएकाेमा जसपा उपेन्द्र यादव समुहकाे ३०, ठाकुर समुहका ५ र कांग्रेसका १९ गरि ५४ जना प्रदेश सभा सदस्यकाे समर्थन पाएकाे छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !