जनकपुरधाम, जेठ २४ गते ।प्रदेश २ सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेटका लागि विनियोजन विधेयक प्रस्तुत गरेको छ ।
सोमवार बसेको प्रदेश सभाको बैठकमा अर्थमन्त्री विजय यादवले आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि विनियोजन विधेयक प्रस्तुत गरेको हो ।
विधेयक प्रस्तुत गर्दै मन्त्री यादवले आगामी बजेट स्वास्थ्यमा केन्द्रित कोभिड १९ लाई लक्षित रहेको भने । स्वास्थ्य सम्बन्धी हकको कार्यान्वय गर्न तथा कोभिड महामारीको दोस्रो लहरबाट उत्पन्न अवस्थाको नियन्त्रण, रोकथाम र उपचार तथा भविष्यमा आउन सक्ने सम्भवनाबाट लड्न सक्ने गरी स्वास्थ्य क्षेत्रलाई बजेटमा प्राथमिकता दिइएको बताए ।
मन्त्री यादवले विगतका वर्षहरुमा घोषणा गरिएका प्रादेशिक महत्वका योजना तथा कार्यक्रमहरुलाई कार्यान्वयनमा लैजाने गरी आर्थिक वर्ष २०७८/७९ को बजेट केन्द्रित रहने, नागरिकको जीवन रक्षा गर्न गुणस्तरीय एवं सहज स्वास्थ्य सेवा सुनिश्चितता, वैदेशिक रोजगारीबाट फर्किएका जनशक्तिहरुको पुँजी, सीप, ज्ञान र क्षमतालाई उपयोग गर्ने गरी प्रदेशमा रोजगारीको अवसरहरु सिर्जना गर्ने लगायतका कुरामा समेत ध्यान पुरयाइएको भने ।
मन्त्री यादवले विनियोजन विद्येयक प्रस्तुत गर्दै भने प्रदेशवासीहरुको गुणस्तरीय शिक्षा प्राप्त गर्ने मौलिक हकको प्रत्याभुति गर्न सामुदायिक विद्यालयहरुको पूर्वाधार निर्माण, शैक्षिक सामग्रीहरुको व्यवस्थापन तथा शैक्षिक जनशक्तिको क्षमता अभिवृद्धि गर्न सार्वजनिक–नीति–साझेदारीको अवधारणामा समेत जोड दिइएको बताए ।
मुलुकको पन्ध्रौ आवधिक योजना, प्रदेशको पहिलो आवधिक योजना, दिगो विकासका लक्ष्यहरु, राज्यले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा गरेको प्रतिवद्धता र अठोट तथा प्रदेश सरकारका विगतका नीति तथा कार्यक्रम, जनता समक्ष गरिएको प्रतिवद्धतालाई पुरा गर्न बजेटलाई लक्षित गरिने विनियोजन विधेयकमा भनिएको छ ।
विनियोजन विधेयकमा संघ र स्थानीय सरकारसँग समन्वय गरी प्रदेशको सबै नागरिकका लागि कोरोना भाइरसको खोप उपलब्ध गराउने, अग्रपंक्तिमा खटेका चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरुका लागि प्रोत्यासनको व्यवस्था लगायतका कुरा उल्लेख छ ।
कोभिड महामारी नियन्त्रण गर्न जारी गरिने लकडाउन तथा निषेधाज्ञाको कारण देशको अर्थ व्यवस्थामा गम्भिर असर परेकोले त्यसको प्रभावलाई न्यूनीकरण गर्दै आर्थिक गतिविधि गतिशिल बनाउने तर्फ केन्द्रित रहने विनियोजन विधेयकमा भनिएको छ ।
सोमवार बसेका प्रदेश सभाको बैठकमा सरकारबाट बर्खास्त गरिएको कारण जसपा ठाकुर समूहका प्रदेश सभा सदस्यहरुले बैठक बहिष्कार गर्दै सहभागी भएन ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !