काठमाडौ, जेठ २२ गते । विवादित अभिव्यक्ति दिएको भन्दै उपप्रधान एवम् सहरी विकासमन्त्री राजेन्द्र महतोको पुत्ला जलाउने नेकपा एमाले माधव नेपाल समूहनिकट अनेरास्ववियुका एक दर्जन नेताहरुलाई पक्राउ गरिएको छ ।
उपप्रधानमन्त्री महतोले बहुल राष्ट्रिय राज्यबारे विवादित टिप्पणी गरेपछि त्यसको विरोधमा नयाँ बानेश्वरमा पुत्ला जलाउने क्रममा प्रहरीले माधव पक्षीय अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली र महासचिव आरती लामासहित करिब १२ जनालाई पक्राउ गरेको हो ।
प्रक्राउ पर्नेहरुमा अनेरास्ववियुका केन्द्रीय सचिव तथा रत्न राज्य क्याम्पसका सभापति टपेन्द्रजंग शाही सचिवहरु, महेश श्रेष्ठ, अशोक थापा, मेघनाथ चापागाईँ, नेताहरु अमर पुन, हर्क बम, लक्ष्मी क्षेत्री, आकाश खनाल, युवा संघका स्थायी कमिटी सदस्य मानबहादुर बुढा समेत रहेको जनाइएको छ ।
प्रहरी हस्तक्षेपका क्रममा पराजुली घाइते समेत भएका छन् । उनीहरुलाई प्रदर्शनीमार्गस्थित महेन्द्र पुलिस क्लबमा राखिएको थियो ।
महतोले शनिबार मन्त्री पदको पदभार ग्रहणका क्रममा नेपाललाई अब ‘बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी’ गर्ने बताएका थिए ।
यो अभिव्यक्ति नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानविरुद्ध रहेको भन्दै चौतर्फी विरोध भइरहेको छ ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !