जनकपुरधाम, जेठ १४ गते । उच्च अदालत जनकपुरधामले कोभिड १९ संक्रमित सहितका बिरामीको उपचारमा लापरवाही नगर्न प्रदेश २ सरकार र प्रादेशिक अस्पताललाई आदेश गरेको छ ।
कोभिड बिरामी सहित आम नागरिकले सहज स्वास्थोपचारको माग गर्दै अधिवक्ता राजकुमार महासेठले मुख्यमन्त्री कार्यालय र प्रादेशिक अस्पताललाई विपक्षी बनाई रिट दायर गरेको थियो । सो रिटको सुनुवाई गर्दै न्यायधिश डालकुमार खडकाको एकल इजलाशबाट यस्तो आदेश दिइएको हो ।
साथै पीपीई, अक्सिजन, भेन्टिलेटर, मास्क, औषधी आदि हुँदा हुँदै अस्पतालमा भर्ना नलिई निजि अस्पतालमा रेफर नगर्न आदेशमा समेत भनिएको छ । उच्च अदालत जनकपुरले प्रादेशिक अस्पताल जनकपुर लगायतका अस्पतालहरुमा बिरामीको उपचारमा लापरवाही हुँदै आएको यस्तो नगर्न भन्दै सम्बन्धित निकायले व्यवस्थापन गर्न आदेशमा भनेको छ ।

साथै अदालतले प्रादेशिक अस्पतालमा कोभिडका बिरामीका लागि कति बेड छुट्याइएको छ, कति र कुन स्तरका स्वास्थ्यकर्मी व्यवस्थापन गरिएको छ, अस्पतालले दैनिक कति बिरामीको उपचार गर्दै आईरहेको छ, कति बिरामी कोभिडको उपचार गरेर संक्रमण मुक्त भएका छन् लगायतका विवरण प्रत्येक हप्ता बुझाउन विपक्षीहरुलाई आदेश दिएको छ ।
अदालतले मागेका विवरणसहित प्रदेशको मुख्यन्यायधिवक्ताको कार्यालय वा सरकारी वकिलको कार्यालय मार्फत १५ दिन भित्र अदालतमा बुझाउनका लागि आदेश दिइएको अधिवक्ता महासेठले बताएका छन ।

















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !