जनकपुरधाम, जेठ १३ गते । बढदै गएको कोभिड १९ महामारीको दृष्टिगत गर्दै प्रदेश २ का राजधानी समेत रहेका जनकपुरधाम उपमहानगरपालिकाले निशुल्क पीसीआर परिक्षणका लागि स्वाब संकलनको घरदैलो कार्यक्रम शुरु गरेको छ ।
नगरवासीलाई महामारीबाट जोगाउन प्रादेशिक प्रयोगशाला र स्वास्थ्य कार्यालयको समन्वयमा जनकपुरधाम उपमहानगरपालिका बिहीवारदेखि वडा नम्बर ४ र ५ बाट पीसीआर परिक्षणका लागि स्वाब संकलनको कार्यक्रम शुरु गरेका हुन ।
वडा नम्बर ४ का लागि विद्यापति चौक स्थित दुर्गा मन्दिरको परिसरमा र कटैया चौरीस्थित ज्ञान ज्योति स्कूलमा तथा वडा नम्बर ५ का लागि महावीर चौक स्थित संकटमोचन माध्यमिक विद्यालयमा स्वाब संकलन गरिएको छ ।
वडा नम्बर ४ र ५ पश्चात नियमित दैनिक रुपमा उपमहानगरपालिकाको अन्य वडाहरुमा स्वाब संकलन गर्ने कार्यक्रम रहेको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार खडकाले एक सूचना जारी गरी जनाएको छ ।
सूचना अनुसार जेठ १४ गते वडा नम्बर ६, ७, ८ को वडा कार्यालय भवनमा १५ गते वडा नम्बर ९, १०, ११ को वडा भवनमा, १६ गते वडा नम्बर १, २, ३ को वडा भवनमा, १७ गते वडा नम्बर १५, १२ र २० मा बिहान ८ बजेदेखि १२ बजेसम्म स्वाब संकलन हुने भएको छ ।
त्यसैगरी जेठ १८ गते वडा नम्बर १३, १४, १९ को वडा भवनमा जेठ १९ गते वडा नम्बर १६, १७, १८ को वडा भवन कार्यालयमा, जेठ २० गते २१, २२, २३ को वडा भवन कार्यालयमा र २१ गते वडा नम्बर २४ र २५ को वडा भवन कार्यालयमा स्वाब संकलन हुने भएको छ ।
ज्वरो, रुघा खोकी लागेका तथा कोरोना संग मिल्दो जुल्दो लक्षण भएका शंकास्पद व्यक्तिलाई निशुल्क पीसीआर चेकजाँचका लागि स्वाब संकलन गराउन आ आफ्नो वडाको तोकिएको मिति तथा स्थान उपस्थित भई दिन उपमहानगरपालिका मेयर लालकिशोर साहले नगरवासीसँग आग्रह गरेका छन ।
जनकपुरधाम उपमहानगरपालिकाले कोरोना महामारीसँग जुध्न तयारी स्वरुप गोपाल धर्मशालामा सुविधा सम्पन्न आइसालेशन संचालनमा राखेका छन भने होम आइसोलेशनमा बसेका संक्रमितहरुलाई खाना, औषधि सहित चिकित्सकीय परामर्श घरदैलोमा गई दिदैं आएको मेयर साहले बताए ।
यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !