जनकपुरधाम, जेठ १२ गते । संक्रमितको संख्या दिनहुँ थपिँदै गएपछि बारा जिल्लामा कोभिड-१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश कार्यान्वयनमा ल्याइएको छ ।
अध्यादेश विपरित कार्य गरेमा वा कार्यान्वयनमा बाधा पुर्याउनेलाई कानुन बमोजिम कारबाही हुने प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पाण्डेले बताएका छन् ।
उनले भने,’अहिलेसम्म पिडामार्का बुझेर व्यवहारिक रुपमा कारबाहीमा कडाई गरिएको थिएन तर संक्रमित हुनेको संख्या तिव्र रुपमा बढदै गएपछि अध्यादेश बमोजिम अघि बढन लागेका हौँ ।’

अध्यादेश बमोजिम कुनै काम गर्न बाधा अवरोध सिर्जना गर्नेलाई एक वर्षसम्म कैद वा पांच लाख रुपैयासम्म जरिवाना लाग्ने वा दुवै सजाय हुन सक्ने व्यवस्था गरिएको छ ।
अध्यादेशको मापदण्ड पालना नगरेमा ६ महिना कैद वा तीन लाख रुपैया जरिवाना वा दुवै सजाय, अध्यादेश बमोजिम दिएको आदेश पालना नगरेको खण्डमा व्यक्तिलाई एकलाख र संस्थालाई पांच लाख रुपैयासम्म जरिवाना तिर्नुपर्ने सार्वजनिक सूचनामा भनिएको छ ।
त्यस्तै मास्क नलगाउनेलाई एक सय र अत्यावश्यक काम बाहेक हिलडुल गर्ने व्यक्तिलाई दुई सय रुपैया जरिवाना लाग्ने छ भने अत्यावश्यक वा तोकिएको सेवा बाहेकको सवारी साधन संचालन गरेको खण्डमा दुई पांग्रेलाई दुई हजार र अन्य सवारी साधनलाई ५ हजार रुपैयासम्म सुरक्षाकर्मीले जरिवाना गर्नेछन ।
अध्यादेश विपरित काम गर्ने वा कार्यान्वयनमा बाधा पुरयाउनेलाई तोकिएको सजाय बाहेक संस्था वा व्यवसायीलाई जिल्ला प्रशासन कार्यालयले ६ महिनासम्मको लागि बन्द गर्न आदेश दिन सक्नेछ ।
निषेधाज्ञा उल्लंघनको कारण दिनहुँ संक्रमित हुनेको संख्या बढ्दै गएपछि अध्यादेशलाई कार्यान्यनका लागि त्यसमा भएका दण्ड सजाय व्यवस्थासहितको सार्वजनिक सूचना नै जिल्ला प्रशासन कार्यालयद्वारा जारी गरिएको छ ।
प्रजिअ पाण्डेले भने,’तिब्ररुपमा बढ्दै गएको संक्रमणको रोकथाम तथा नियन्त्रण निषेधाज्ञालाई पूर्ण पालना गराउन अध्यादेशमा भएका कानुनी दण्ड सजायको व्यवस्था सबैमा जानकारीका लागि सार्वजनिक सूचना जारी गरिएको हो ।’


















यो विषयमा आफ्नो प्रतिक्रिया दिनुहोस् !